Prakash Adhikari August 6, 2018

काठमाडौं, २० साउन । गंगामाया र नन्दप्रसाद अधिकारीका जेठा छोरा नुरप्रसाद अधिकारी प्रहरीको सम्पर्कमा आएका छन् । लामो समयसम्म परिवारको सम्पर्कमा नरहेका गोरखा फुजेलका नुरप्रसाद अधिकारीले आफै आइतबार ललितपुरको हरिहरभवनबाट प्रहरीलाई सम्पर्क गरेपछि महानगरीय अपराध महाशाखाले आइतबार उनलाई सानेपाबाट नियन्त्रणमा लिएको हो।

कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै लामो समय बसेको आमरण अनसन असार ३० गते तोड्दा गंगामायासंग सरकारले दुई बूँदे सहमति गरेको थियो , जसमा लामोसमयदेखि सम्पर्कहीन भएका उनका जेठा छोराको खोजीको विषय पनि परेको थियो ।

कान्छा छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३ सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

पतिको निधनपछि पनि कान्छो छोराका दोषीलाई कारबाही माग गर्दै आमा गंगा माया अनशन बसेकी थिइन् । उनको अनशन पनि यही असार ३० गते तोडिएको थियो ।

त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजारस्थित कारागारमा लगिएको थियो ।

२०७२ सालमा भएको पाँच बुँदे सहमतिमा कृष्णप्रसादको हत्यामा संलग्न रुद्र आचार्यलाई पनि कारवाहीको दायरामा ल्याउने भनिएको थियो । बेलायतमा रहेका रुद्रलाई ल्याउन सुपुर्दगी सन्धि नभएकोले अप्ठेरो परको जनाउँदै प्रहरीले इन्टरपोलमार्फत कारबाही अगाडि बढाएको बताएको छ ।

अनशनमै निधन भएका नन्दप्रसादको शव चार वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम ‘रुम’मा रहेको छ । जेठा छोरा नुरप्रसाद बाबुको शव बुझ्न पनि आएका थिएनन् ।

नुरुप्रसाद काठमाडौँमै रहेर पनि अनशनमा रहेकी आमाको सम्पर्कमा पनि आएका थिएनन् ।

सरकारले केही दिन अघिमात्र अनशन बस्दै आएकी उनकी आमा गंगामाया अधिकारीलाई राहतस्वरूप एक करोड रुपैयाँ दिएको थियो।

सरकारले राहत रकम उपलब्ध गराएकोले पनि उनी स्वेच्छिक रुपमा सम्पर्कमा आएको अनुमान गरिएको छ ।

Share Now

Leave a comment.