Prakash Adhikari August 6, 2018

 

कराकास(भेनेजुयला),२० साउन(बीबीसी)। भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले उनीमाथि विस्फोटक पदार्थ बोकिरहेको ड्रोनहरूमार्फत् गरिएको हमलालाई “हत्याप्रयास” भन्दै त्यस्तो कार्य अक्षम्य भएको बताएका छन्।

मडुरोले सो हमलाका लागि कोलम्बियालाई दोष दिएका छन् तर त्यस्तो आरोप “आधारहीन” भएको भन्दै उसले अस्वीकार गरेको छ। साथै अमेरिकाले पनि ती आरोपहरू अस्वीकार गरेको छ।

घटनाको सम्बन्धमा केही मानिसलाई नियन्त्रणमा लिइएको भेनेजुएलाका अधिकारीहरूले जनाएका छन्।

विस्फोट
राजधानी कराकासमा आयोजित एउटा सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उक्त ड्रोन हमला भएको थियो।

विस्फोटमा उनलाई कुनै चोटपटक नलागे पनि सातजना सैनिक घाइते भएका छन्।

विस्फोटक पदार्थले भरिएका दुई वटा ड्रोनहरू राष्ट्रपतिको छेउमै खसेर विस्फोट भएको भेनेजुएलाका सञ्चारमन्त्री खोर्खे रोड्रिगेजले बताएका छन्।

सामाजिक संजालका राखिएका तस्वीरहरूमा उनका अंगरक्षकहरूले घेरा हालेर उनको ज्यान जोगाएको देख्न सकिन्छ।

छिमेकी देश कोलम्बिया तथा संयुक्त राज्य अमेरिकाभित्र रहेका तत्त्वहरूले उनको ज्यान लिने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

सुरक्षा

अनुत्तरित
अझै पनि कैयौँ प्रश्नहरू अनुत्तरित रहेको बताउँदै सो घटनालाई विपक्षीहरूमाथि बन्देजहरू लाद्ने मौकाका रुपमा सरकारले प्रयोग गर्न सक्ने चिन्ता धेरै मानिसले व्यक्त गरेको बीबीसीकी दक्षिण अमेरिका संवाददाता केटी वाट्सनले बताएकी छन्।

कमैमात्र सुनिएको सोल्जर इन टिशर्ट्स नामक एउटा समूहले हमलामा उसको संलग्नता रहेको सामाजिक संजालमा जनाएको छ।

मडुरोलाई लक्षित गर्दै दुई वटा ड्रोनहरू विस्फोट गराउने उसको योजना रहेको तर सैनिकहरुले खसालिदिएको उसले जनाएको छ।

सो दाबीलाई पुष्टि गर्न सक्ने कुनै प्रमाण सो समूहले पेश गरेको छैन र संचारमाध्यमले सम्पर्क गर्दा सो समूहले कुनै प्रतिक्रिया पनि जनाएन।

Share Now

Leave a comment.