Prakash Adhikari August 3, 2025

-फणीन्द्र दाहाल
संवाददाता, बीबीसी न्यूज नेपाली

काठमाडौं, १८ साउन । चीनसँग सीमा जोडिएको हुम्लाको दुर्गम तिलगाउँका पेम्बा तुन्डुप लामा आफू र परिवारको सुरक्षाका लागि भन्दै आफ्नो थातथलो छाड्ने ध्याउन्नमा हुनुहुन्छ।

यस वर्ष जेठमा आएको भेलपहिरो र अघिल्लो हप्ता आएको अझ ठूलो बाढीपहिरो का कारण हरेक रात आफूलाई डर लाग्ने गरेको उहाँले सुनाउनुभयो।

नाम्खा गाउँपालिकामा अवस्थित लिमी उपत्यकामा पर्ने तिलगाउँका सबैले पछिल्ला प्राकृतिक विपद्‌हरूपछि असुरक्षित महसुस गरेको भन्दै उहाँले आफूहरूले सुरक्षित स्थानमा सारिदिन सरकारसँग निरन्तर माग गरिरहेको बताउनुभयो।

एउटा सरकारी प्रतिवेदनले विगतमा १ सय ४२ जना रहेको तिल गाउँमा जेठ १ गते भेलपहिरो आउँदा ३२ जना मात्र रहेको देखाएको छ। सरकारी टोली उक्त विपद्‌को कारण पत्ता लगाउन पुग्दा ४२ जना गाउँमा थिए।

गत साताको बाढीपछि विवरण सङ्कलन गर्न उक्त गाउँमा पुगेको प्रहरीलाई ३९ वर्षका पेम्बा र अन्य गाउँलेहरूले आफूहरूलाई वैकल्पिक वासस्थान उपलब्ध गराइदिनुपर्ने माग गरेका थिए।

धार्मिक, रणनीतिक र ऐतिहासिक महत्त्व बोकेको लिमी उपत्यका चीनको ताक्लाकोटनजिकै अवस्थित छ र त्यहाँबाट कैलास पर्वत तथा मानसरोवरको दूरदर्शन गर्न सकिन्छ।

तिलगाउँको पछिल्लो अवस्था के छ?

गएको जेठमा तिलगाउँभन्दा माथि अवस्थित एउटा हिमतालबाट पानी चुहिँदा आएको भेलपहिरोपछि खेतमा लगाइएको अन्नबालीमा क्षति पुगेको थियो। त्यसबाहेक खानेपानी,सिँचाइको कुलो, सवारी गुड्ने काठेपुललाई पनि भत्काएको थियो।

उक्त भेलपहिरोले १५ किलोवाटको साना जलविद्युत आयोजनामा पुर्‍याएको क्षतिका कारण अझै पनि त्यहाँ बिजुली आपूर्ति सहज नभएको स्थानीयवासी बताउँछन्। नदी किनारको कटानका कारण तीन वटा घर, एउटा गोठ र खानेपानीको धारा जोखिममा रहेको सरकारी प्रतिवेदनमा जनाइएको छ।

अघिल्लो हप्ता उक्त गाउँनजिकै अर्को खोलामा अझ ठूलो बाढीपहिरो आएको भन्दै स्थानीय बासिन्दाले आफूहरूलाई सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेका छन्।

वडा सदस्य समेत रहेका पेम्बाले उक्त बाढीबाट खासै ठूलो भौतिक क्षति नभए पनि सबै जना आत्तिएको बताउनुभयो।

जेठ महिनामा काठमाडौंबाट स्थलगत अध्ययनका लागि गएको टोलीले तिलगाउँको माथिल्लो भागबाट तत्कालै अर्को भेलपहिरोको सम्भावना नभए पनि यस्तै घटना दोहोरिने सम्भावना रहेको उल्लेख गरेको थियो।

जलवायु परिवर्तनको प्रभावस्वरूप हिमनदी खुम्चने, पर्माफ्रस्ट पग्लिने र ताल अस्थिर बन्ने परिस्थिति रहेको भन्दै यस्ता घटना दोहोरिने जोखिम उच्च रहेको टोलीले निष्कर्ष निकालेको थियो।

चार जना परिवारका सदस्यसहित गाउँमा बसिरहेका पेम्बा सयौँ वर्ष पुरानो गाउँको माया आफूलाई रहे पनि ज्यान जोगाउन बसाइँ सर्नुको विकल्प आफूले नदेखेको बताउनुहुन्छ।

उहाँले बीबीसीसँग भन्नुभएको छ, “यहाँ धन नभएकाले (बाध्य भएर) बुढाबुढी मात्रै बसिरहेका छौँ। गाउँको माया लाग्छ तर के गर्ने? प्राकृतिक विपद्‌कै कारणले हामीले यो ठाउँ छाड्नुपर्ने भयो। घर पनि बग्यो, खेत पनि धेरै बग्यो। अब हामीले के खाने? त्यही कारण ज्यान जोगाउनका लागि हामी अर्को ठाउँ जानुपर्छ।”

पेम्बाले जेठमा आएको बाढीपहिरोपछि गाउँका वृद्धवृद्धा पहिरोको जोखिममा नरहेको तर अलिकति टाढा अवस्थित गुम्बामा सुत्न गइरहेको बताए।

पेम्बा थप्नुहुन्छ, “म आफ्नो घरमा नै बसिरहेको छु। तर ढुङ्गा बगेको आवाजले निदाउन पनि सकेको छैन। भाग्न नसक्ने बुढाबुढीहरूलाई सुत्नका लागि अझै पनि गुम्बा नै पठाइरहेका छौँ।”

उहाँ निरन्तर डरको अवस्था रहेको भन्दै अब आफूहरूले लिमी उपत्यका नै छाड्न चाहेको बताउनुहुन्छ।

“लिमीभित्र हामी बस्न सक्दैँनौँ। यहाँबाट पर सुरक्षित ठाउँ कहाँ हुन्छ, त्यहाँ सारिदिनुपर्‍यो भनेर हामीले सरकारलाई पनि त्यहीँ अनुरोध गरेका छौँ।”

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा उनको गाउँ पर्छ। त्यहाँ १३ औँ शताब्दी पुरानो एउटा गुम्बा पनि छ।

विगतमा छिमेकी जाङगाउँका बासिन्दा बसाइँ सर्दा गुम्बाका महत्त्वपूर्ण सामानहरू सारेको उल्लेख गर्दै त्यसरी नै गुम्बाको सामानहरू समेत लिएर सुरक्षित स्थानमा जान आफूहरूले चाहेको उहाँले सुनाउनुभयो।

तर वडा अध्यक्ष पाल्जोर लामाले गुम्बाकै कारण मानिसहरू अझै पनि त्यहाँ अडिरहेको भन्दै आफूले मानिसहरूलाई लिमी उपत्यकाभित्रै सुरक्षित ठाउँमा सार्नुपर्ने र जनजीविकाका लागि थप अवसरहरू दिएर गाउँमै राख्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो।

नाम्खा गाउँको वडा नम्बर ६ मा जाङ, हल्जी र तिलगाउँ छन्। समुद्री सतहबाट ३,९५० मिटरमा तिल, ३,७०० मिटरमा हल्जी र ३,९२० मिटरमा जाङ अवस्थित छन्।

लिमी उपत्यकामा उपत्यकामा कैयौँ हिमताल, ग्लेसिअल मोरेन (हिमनदीसँगै बगेर आउने चट्टानका थुप्रा) र प्रोग्लेसिअल लेक (हिमनदी वा बरफको थुप्रोको छेउमा बनेका जलाशय) छन्।

किन भइरहेको छ विस्थापन?

नाम्खा गाउँ पालिकाको वार्ड नम्बर ६ मा ३ सय ८० पुरुष र ४ सय ३२ महिला रहेको विसं २०७८ को जनगणनाले देखाएको थियो।

जेठ १ गते भेलपहिरो गएको समयमा तिलगाउँका २२ घरधुरीमा ३२ जना रहेका थिए। कुल जनसङ्ख्या १ सय ४२ रहेको उक्त गाउँका केही मानिस विपद्‌पछि परिवारलाई सहयोग गर्न फर्किएका थिए।

पछिल्ला वर्षमा जाङ गाउँ लगभग रित्तिएको छ र त्यहाँ अहिले दुई जना बसिरहेका वडाअध्यक्ष पाल्जोर लामाले बीबीसीलाई बताउनुभयो।

उहाँ भन्नुहुन्छ, “दुर्गम ठाउँमा सरकारको हेरचाह पनि कम भइरहेको छ। हाम्रो वडामा तीन वटा मात्रै गाउँ छ। जाङ पहिल्यै नै सकिइहाल्यो। गुम्बाका सबै सामानहरू सारेर कोही काठमाडौं गए भने कोही ताक्लाकोटतर्फ गए।”

उहाँले पछिल्लो विपद्पछि तिल पनि खाली हुने जोखिम आफूले देखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

“अहिले तिलमा १८ घरधुरीले निर्णय गरेको भन्ने कुरा छ। पहिला त्यहाँ करिब ४० घरधुरी थिए, तर त्यो बिस्तारै घट्दै गयो। अहिले पनि मान्छेहरू आत्तिएका छन्। राज्यले केही गरेन भने गाउँ छाडेर जानुपर्छ भन्ने निर्णय भएको रहेछ। लिमीका जनता यस्तै गरी सकिने पो हो कि भन्ने चिन्ता लागेको छ।”

प्राकृतिक विपद् र जीविकोपार्जनमा कठिनाइजस्ता समस्या देखाउँदै मानिसहरूले गाउँ छाड्ने क्रम त्यसयता निरन्तर बढिरहेको उहाँले बताउनुभयो।

नाम्खाको जाङका कोन्जोक छोपेल सपरिवार काठमाडौंमा नै बस्नुहुन्छ। उहाँले स्वास्थ्य र सडकमा नगण्य पहुँच भएकाले आफ्नो परिवार राजधानीमा नै बस्ने निर्णयमा पुगेको बताउनुभयो।

छोपेल भन्नुहुन्छ, “कोही मान्छे बिरामी भयो भने हामीले लाखौँ खर्च गरेर हेलिकप्टरमा ल्याउनुपर्ने परिस्थिति गाउँमा छ। छ महिना हाम्रो नाका पूरै बन्द हुन्छ, सबै थोक लैजान हेलिकप्टर नै चाहिन्छ। अनि जलवायु परिवर्तनले पारेको असर त छँदै छ। कति जना विदेश गए, सहरमा पढेका छोराछोरीले आफ्ना बुवाआमा यतै बोलाए, एक्लै बस्न गाह्रो भएर पनि कति यतै आउनुभयो।”

उहाँले आफू सानैदेखि राजधानीमा बसेको उल्लेख गर्दै सबै गाउँले बाहिर जान थालेपछि आफ्ना आमाबुवा पनि राजधानी आएको सुनाउनुभयो। “सीमाको मान्छे भएका कारण गर्मी याममा हामी ताक्लाकोटमा व्यापार गर्न जान्छौँ नत्र अहिले सबै जना यतै छौँ “, उहाँले भन्नुभयो।

तर आफूले अझै पनि लिमी क्षेत्रमा काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धन गर्न लिमी एकता तथा बहुउद्देश्यीय सहकारी गठन गरेर आफूहरूले काम गरिरहेको बताउनुभयो।

रणनीतिक महत्त्वको स्थान

सन् २०२० मा लिमी तथा लाप्चानजिकै नेपाल(चीन सीमा क्षेत्रमा नयाँ भवनहरू बनेका भन्ने विवरण आएपछि लिमी उपत्यका चर्चामा आएको थियो।

चिनियाँ पक्षले नेपाली भूभागमा ती भवनहरू बनाएका भन्ने विवरणका माझ काठमाडौं र बेइजिङ दुवैले ती संरचना चिनियाँ भूभागमा नै बनाइएको स्पष्टीकरण दिएका थिए।

वडाअध्यक्ष पाल्जोरले पछिल्लो बसाइँसराइले उच्च धार्मिक र रणनीतिक महत्त्व बोकेको यो ठाउँमा थप समस्याहरू जन्माउनसक्ने चिन्ता व्यक्त गर्नुभयो।

उहाँका अनुसार हल्जीमा पनि पहिरो र ढुङ्गा खस्ने जोखिम रहेको छ। तर त्यहाँबाट अहिलेसम्म ठूलो सङ्ख्यामा बसाइँसराइ भएको छैन।

“कैलाश मानसरोवरको दूरदर्शन गर्न सकिने लिमी उपत्यका हाम्रो ठाउँमा पर्छ। चीनसँग सिमाना जोडिएको लिमी लाप्चा १२ नम्बर पिलर त्यही पर्छ। दुईवटा गाउँ लगभग सकियो, बिस्तारै हल्जी गाउँ पनि सकिन्छ भन्ने डर लाग्छ। यहाँ चीनसँगको सीमाको सुरक्षा गर्ने नै हामी हौँ। तर जनता नै गाउँमा सकियो भने हाम्रो सीमा कसले हेर्लान्?”

उहाँले आफूले तिलमा जोखिममा रहेका घरहरूलाई ‘वरिपरिकै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न’ र मानिसहरूको विस्थापन रोक्न आफूले प्रशासनलाई सुझाव दिइरहेको बताउनुभयो।

बिहीवार नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा नेतृत्वको एउटा टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हिमालको फेदमा अवस्थित यी तीन गाउँमा विपद्‌को जोखिम देखा परिरहेकाले समग्र भौगर्भिक अध्ययन गरी उक्त स्थान बसोबास गर्न मिल्ने या नमिल्ने हो निर्क्योल गर्न आग्रह गर्नुभएको थियो ।

“हिमालपारिका यी बस्तीका मानिस जुन समयमा कृषि तथा पशुपालन गर्थे, त्यो समय सिमानासम्ममा नेपालको पहुँच पुर्‍याउने काम र सिमाना यकिन गरिरहने काम यी समुदायले गरेका थिए”, प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ।

“तर हाल बढ्दो बसाइँसराइ र कृषि तथा पशुपालनको व्यवसाय पूर्ण रूपमा बन्द हुँदा सिमानाका बारेमा थप विवाद र अन्योल सृजना भएकाले यहाँको बस्तीमा बसोबास टिकाइराख्न र नेपालको राष्ट्रिय पहुँचलाई स्थायित्व गर्न कृषि तथा पशुपालन व्यवसाय ‘ हबको रूपमा विकास गर्नुपर्ने”, लिमीका बासिन्दालाई सीमाको पहरेदार दाबी गरिएको सो आठबुँदे मागपत्रमा भनिएको छ।

विज्ञहरू के भन्छन्?

जर्मन वैज्ञानिकहरूले सन् २०१५ मा प्रकाशित गरेको एउटा अध्ययन प्रतिवेदनले लिमी उपत्यकामा अवस्थित हल्जीमा सन् २००५ देखि सन् २०१४ सम्म छ वटा हिमताल विस्फोटनका घटना भएको उल्लेख गरेको छ।

हल्जी हिमनदीबाट उत्पन्न हुने विपद्‌ले स्थानीय गाउँ र त्यहाँ अवस्थित प्राचीन गुम्बालाई खतरा पुर्‍याउने उल्लेख गर्दै उक्त अध्ययनमा विपद् जोखिम न्यूनीकरणको पहल गर्न सुझाव दिइएको थियो।

जेठ १ गते तिलमा आएको हिमपहिरो र बाढीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न सरकारले विपद् न्यूनीकरण प्राधिकरणका सिनिअर डिभिजनल ईन्जिनिअर सुशीलकुमार श्रेष्ठको नेतृत्वमा एउटा टोली लिमी पठाएको थियो।

उहाँले तिलगाउँभन्दा माथि लगभग ५,४०० मिटर उचाइमा अवस्थित हिमतालसम्म पुगेर आफूहरूले प्रतिवेदन तयार पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,”ति गाउँभन्दा माथि रहेका दुई वटा हिमतालको पिँधबाट पानी चुहिएर लगभग ५०र६० मिटर तलबाट पानी निस्किएको र त्यस क्रममा बाँध जस्तो बनेर पानी जम्मा हुने र खुल्ने क्रममा, त्यसले गाउँसम्म आइपुग्दा ठूलो भेलबाढीको रूप लिएको देखियो।”

उहाँले उक्त क्षेत्रमा कतिपय ठाउँमा कटान र ढुङ्गा खस्ने समस्या देखिएको भए पनि स्थानीय परिस्थितिसँग घुलमिल भएर गाउँलेहरू बसिरहेको आफूहरूले पाएको बताउनुभयो।

उक्त अध्ययन टोलीले आफ्नो प्रतिवेदनमा तत्कालै अर्को भेलपहिरो आएर जोखिम पुर्‍याउने सम्भावना नरहेको भए पनि हिउँद महिनामा हुने हिमपात र तापक्रम घट्ने क्रममा हिमतालमा पुनर्भरण हुन सक्ने र गर्मी महिनामा यस्तै घटना दोहोरिन सक्ने चेतावनी दिएको थियो।

साथै अध्ययन टोलीले त्यहाँका हिमतालहरूलाई निरन्तर अनुगमन गर्न र मेदेखि अगस्टसम्म आउन सक्ने भेलबाढीलाई लक्षित गरी विपद् प्रतिकार्य योजना बनाउन सुझाव दिएको थियो

हुम्लाका प्रमुख जिल्ला अधिकारीको भनाई

तिलजुङ खोलामाथिको हिमतालको पीँधबाट पानी चुहिँदा जेठ १ गते भेलपहिरो आएको अध्ययनले देखाएको छ। हिमतालसहित त्यहाँ देखािएको ढुङ्गा र बरफमा देखिएको टुटफुट

तिलजुङ खोलामाथिको हिमतालको पीँधबाट पानी चुहिँदा जेठ १ गते भेलपहिरो आएको अध्ययनले देखाएको छ। हिमतालसहित त्यहाँ देखािएको ढुङ्गा र बरफमा देखिएको टुटफुट

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले लिमी उपत्यकामा अवस्थित तिलगाउँका स्थानीयवासीले बस्ती छाड्न लागेकोबारे औपचारिक जानकारी नपाएको बताउनुभयो।

उहाँले जेठ १ गतेको भेलपहिरोका कारण क्षति भएका कतिपय संरचनाहरूको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो।

उहाँ भन्नुहुन्छ, “जेठमा आएको बाढीबाट प्रभावित स्थानीयवासीहरू केही समय टेन्टमा बस्नुभयो। यसबीचमा प्राविधिक टोली आएर अध्ययन गरेर पनि फर्किसकेको छअनि बाढीको कारण बस्तीमा जोखिम आउन सक्ने आकलन गरेर जो सुरक्षित स्थानमा जानुभएको थियो, उहाँहरू पनि आफ्नो घरमा फर्कनुभएको र बस्न थाल्नुभएको जानकारी हामीले पाएका छौँ।”

उहाँले थप्नुभयो, “खानेपानीको मुहानमा जुन क्षति पुगेको थियो, त्यसलाई हाम्रै खानेपानीको कार्यालयमार्फत् ठिक गरिसकिएको अवस्था छ। अघिल्लो घटनापछि वारिपारि पनि गर्न गाह्रो भएको भन्ने कुरा सम्बोधन गर्नका लागि पुल पनि बनाइसकिएको छ। तर अस्ति आएको बाढीले काठे पुल बगाएको भन्ने जानकारी हामीले पाएका छौँ, प्रहरीको प्रतिवेदनमा पनि त्यो छ, त्यसको पुनर्निर्माणको काम पनि अघि बढाइनेछ।”

तर प्रमुख जिल्ला अधिकारी पाण्डेले उक्त क्षेत्रमा जोखिम रहेको विवरण भन्ने आफूहरूले नपाएको र कसैले पनि गाउँ छाड्न लागेको कुरा औपचारिक रूपमा आफूहरूले थाहा नपाएको पनि उल्लेख गनुभयो।

Share Now