सानेपा(ललितपुर), २२ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको मंगलबार बसेको आकास्मिक बैठकले संवैधानिक परिषद्बाट सिफारीस पनि गराउने र संसदीय सुनवाई समितिलाई निर्देशन गरि अस्वीकृत पनि गर्न लगाउने प्रधानमन्त्री के.पी.शर्मा ओलीको दोहोरो चरित्रको कारण प्रधानन्यायाधीश नियुक्ति प्रकृया दुर्घटनामा परेको बताएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकले सो निष्कर्ष निकालेको हो ।
केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रकाशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ ,’ प्रधानमन्त्री के.पी. शर्मा ओलीले संवैधानिक परीषदको अध्यक्षको हैसियतमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधिश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि प्रस्तावित गर्नु भयो । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि( सम्बन्धी ऐन, २०६६ को दफा ५ को व्यवस्था बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानूनमा उल्लेख भएको योग्यता, उपयुक्तता र निजको समाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई आधार मानी संवैधानिक परिषदले प्रधानमन्त्रीको प्रस्तावमा सर्वसम्मत रुपमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय ग¥र्यो । त्यसै अनुसार संसदीय सुनुवाई समितिमा अनुमोेदनका लागि पठाइयो ।’
कांग्रेसले प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्रीको पार्टीको तर्फबाट संसदीय सुनुवाई समितिमा प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुबाट विना आधार र कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने सिफारिस अस्वीकृत गरिएको गम्भीर आरोप पनि लगाएको छ ।
नेपाली कांग्रेसले भनेको छ, ‘समग्रमा, प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री के.पी. शर्मा ओलीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गर्नु भएको कारण प्रधान न्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा प¥र्यो ।’
नेपाली कांग्रेसले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै यसलाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिएको छ । नेपाली कांग्रेसले आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गरेको छ ।
शोक प्रस्ताव पनि
नेपाली कांग्रेसको आकास्मिक बैठकले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको गत श्रावण २० गते भएको असामयिक निधन, नेपाली कांग्रेस नुवाकोटका पूर्व महासमिति सदस्य विष्णु आचार्यको गत श्रावण १३ गते भएको असामयिक निधन र नेपाली कांग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको गत श्रावण ९ गते भएको निधनप्रति आजको यो बैठक गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीले उहाँहरुको निधनबाट पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको वताउदै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।