काठमाडौं, २८ साउन । नेपालको शेयर बजार केहि दिन यता दैनिक ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ।
यस दिन ८९ स्टकको शेयर मूल्य बढेको छ भने १ सय ५९ स्टकको घटेको छ । १ स्टकको शेयर मूल्य अघिल्लो कारोबार दिनकै तहमा रहेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज १ करोड ५८ लाख ४७ हजार ८ सय ७३ शेयरको खरिदबिक्रीबाट ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
शेयर बजारमा सूचीकृत भई वर्गीकरण गरिएका १३ उपसमूहमध्ये यस दिन विकास बैंक,फाइनान्स,म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको छ भने बैंकिड., होटल, हाइड्रो, इन्भेष्टमेण्ट, उत्पादन, लाईफ इन्स्योरेन्स,माइक्रो फाइनान्स, ननलाईफ इन्स्योरेन्स र ट्रेडिड. उपसमूहको परिसूचक घटेको छ ।
यस दिन माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १०.२५ प्रतिशत केबीएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड बढीको शेयर कारोबार भएको छ।


















