डार्विन(अष्ट्रेलिया), २९ साउन । अष्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेट(एनटी)को आयोजनामा भोलिदेखि टप इण्ड टी २० सेरिज क्रिकेट प्रतियोगिता हुँदै छ ।
डार्विन शहरका विभिन्न रंगशालामा हुने खेलमा ११ टोलीको सहभागिता रहने छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यस्तै सिरिजमा बीबीएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरु सहभागी हुने छन् ।
स्थानीय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ । खेलतालिका अनुसार खेलहरु ५ वटा स्थानीय मैदानमा हुनेछन् । उद्घाटन खेल पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा हुनेछ ।
नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) शुक्रवार नर्दन टेरिटोरी स्ट्राईकसँग छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।
नेपालले चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३)मा खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४)मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ ।
छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ ।
सेमिफाइनल र फाइनलका खेलहरु २४ अगस्ट (भदौ ८) मा हुनेछन् ।
कप्तान रोहितकुमार पौडेल नेतृत्वमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शाहब आलम सम्मिलित टोली खेलका निमित्त अष्ट्रेलियाको डार्बिन शहरमा पुगिसकेको छ । नेपालका नामी बलर ललितसिंह राजवंशी भने आमाको निधन भएकोले यो खेलमा सहभागी हुन सकेनन् । उनको ठाउँमा नेपाल क्रिकेट संघले शाहब आलमलाई चयन गरेको हो ।
सिरिजमा नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहन सके नेपाल सिरिजको सेमिफाइनलमा पुग्नेछ । पहिलो पटक यो सिरिजमा भाग लिएको नेपालको शुक्रवार नर्थ टेरिटोरि स्ट्राइकसँग खेल्नेछ ।



















