Prakash Adhikari August 13, 2025
काठमाडौँ २८ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गर्नुभएको छ ।
आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गर्नुभयो ।
मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन निर्माण हुने र नेपालले ऊर्जा विकासमा राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । एमसिसी परियोजना कार्यान्वयनका लागि द्विपक्षीयसम्बन्ध सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताउनुभयो ।
एमसिसीका सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनका बारेमा जग्गा प्राप्ति, वनलगायतको समस्या सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।
भेटमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।
वनमन्त्री शाहीसँग भेटवार्ता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसिसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गर्नुभएको छ । मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
एमसिसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उहाँले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग र नेपालमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सरकारको प्रयास साकार हुनलागेको उल्लेख गर्नुभयो ।
यस परियोजनाको कार्यान्वयनले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुका साथै एकआपसमा विश्वास थपेको उल्लेख गदै मन्त्री शाहीले प्रसारणलाइन परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई मात्र नभई नेपाल र भारतबीच विद्युत् व्यापारलाई पनि सहज बनाएको बताउनुभयो । उहाँले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गर्नुभएको थियो ।
Share Now