Prakash Adhikari August 16, 2025

 

डार्बिन(अष्ट्रेलिया), ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी २० सिरिजमा नेपालले दोस्रो खेलमा पनि पराजय ब्यहोरेको छ ।

आज बंगलादेश ‘ए’ सँग भएको खेलमा नेपाली राष्ट्रिय टिम २९ रनले पराजित भएको छ।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले अविजित ५९ रन बनाए । तर टप अर्डरका ब्याटरहरु ओपनर कुशल भुर्तेल, रोहित पौडेल, आशिफ शेख, गुल्शन झा, लोकेश बम लड. सट खेल्ने धुनमा छिटोछिटो आउट भएपछि नेपाल विजय हुने सपना पूरा हुन पाएन ।

कुशल मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । उनको शैलीमा अरु कुनै ब्याटर उत्रिन सकेको भए नेपालले आज पराजय भोग्नुपर्ने थिएन ।

नेपाललाई रोक्नका लागि बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १ । १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए ।

नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १ । १ विकेट लिए ।नेपाली खेलाडीहरुले सुरुमा विकेट लिन कठिन भएपछि बंगालादेश ए लाई रन जोड्न निकै सजिलो भएको थियो ।

नेपाली खेलाडीहरुको बलिड.को स्तर पनि यो सेरिजमा सुधार्न पर्ने देखिएको छ । नेपाली खेलाडीहरुले विश्वकप लिग २ को स्कटल्याण्ड सेरिज पछि विदेशी टिमसंग खेलेका छैनन् । यसैले उनीहरुको भएको प्रतिभा पनि खारिन पाएको देखिएन ।

टप इन्ड टी २० सेरिजमा नर्थन टेरिटरी स्ट्राइकसंग भएको पहिलो खेलमा पनि पराजित भएको थियो ।

नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

शीर्ष चारमा रहने टिमहरु सेमिफाइनल र फाइनलमा पुग्ने छन् ।

Share Now