वासिङ्टन, २ भदौ (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि क्रिमिया पुनः प्राप्त गर्ने वा नेटो सदस्यता प्राप्त गर्ने सम्भावनाहरू वार्ताबाट बाहिर रहेको घोषणा गर्नुभएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबारको वार्ताका लागि अमेरिकी राजधानी वासिङ्टन आइपुग्नुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले विगतमा पटक–पटक भूभागीय सम्झौताको विरोध गर्दै आउनुभएको छ । युरोपेली आयोग प्रमुख उर्सुला फन डेर लायन तथा अन्य युरोपेली नेताहरूसँग संयुक्तरूपमा सोमबार राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो भेटवार्ता ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा सम्पन्न भएको शिखर सम्मेलनको केही दिनपछाडि हुँदैछ । उक्त सम्मेलनबाट युद्धविराममा ठोस सहमति जुट्न नसके पनि, दुवै नेताले युक्रेनलाई ‘मजबुत सुरक्षा प्रत्याभूति’ दिन प्रतिबद्धता जनाउनुभएका थिए ।
जेलेन्स्की उक्त अलास्का बैठकमा आमन्त्रित थिएनन् । बैठकपछि ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्न चाहने हो भने त्यो तुरुन्त सम्भव हुने अभिव्यक्ति दिनुभएका थिए ।
“राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध तुरुन्त अन्त्य गर्न सक्छन्,“ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभयो । “क्राइमिया त बाराक ओबामाको पालामै बिना गोली चलेको र बिना प्रतिरोध रुसलाई गइसकेको थियो ।”
जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसहित अमेरिकी राजदूतसँगको भेटमा सोमबार हुने आफ्नो अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा पश्चिमा सुरक्षा प्रत्याभूतिका विषयमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।
“हामीसँग सुरक्षा सुनिश्चितताको योजनाबारेमा बोल्ने समय हुनेछ”, युक्रेनका लागि ट्रम्पका विशेष दूत किथ केलोगसँगको वार्तामा जेलेन्स्कीले भन्नुभयो, “यो वास्तवमै सबैभन्दा महत्वपूर्ण हो।”
राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “जब युरोपको एउटा देशको लागि शान्तिको चर्चा गरिन्छ, त्यसको अर्थ सम्पूर्ण युरोपका लागि शान्ति हो।”
“हामी युद्ध अन्त्य गर्न र भरपर्दो सुरक्षा सुनिश्चित गर्न अधिकतम प्रयासका साथ काम गर्न तयार छौं,” उहाँले भन्नुभयो ।
उहाँले रुसविरुद्ध दृढता अपनाउन आग्रह गर्दै ट्रम्पको भाषा पनि प्रयोग गर्नुभयो, “रूसलाई केवल शक्तिको माध्यमबाट शान्तिमा जबरजस्ती गर्न सकिन्छ, र राष्ट्रपति ट्रम्पसँग त्यो शक्ति छ। शान्ति कायम गर्न हामीले सबै कुरा सही गर्नुपर्छ।”
जेलेन्स्की पछि वासिङ्टनस्थित युक्रेनी दूतावासमा युरोपेली नेताहरूसँग भेला हुनुभएको थियो । उनीहरू युक्रेनका लागि समर्थन जनाउन वासिङ्टन पुगेका हुन् र उनीहरूको ट्रम्पसँग संयुक्त रूपमा भेट्न कार्यक्रम रहेको छ ।
शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले युक्रेनलाई मस्कोको आक्रमण अन्त्य गर्न युक्रेनलाई केही भूभाग छोड्न दबाब दिइरहेको बताइएको छ।
ट्रम्पले युक्रेनलाई नेटोमा सामेल हुन अनुमति दिन अस्वीकार गर्नुभएको छ र पुटिनको अडानसँग आफूलाई मिलाउनुभएको छ । यद्यपि अमेरिकी अधिकारीहरू र पश्चिमी नेताहरूले युक्रेनलाई सुरक्षाको सुनिश्चतता गर्न अन्य तरिकाहरू खोजिरहेको बताएका छन्।
पुटिनले ट्रम्पसँगको संक्षिप्त पत्रकार सम्मेलनमा भन्नुभयो, “स्वाभाविक रूपमा, युक्रेनको सुरक्षा पनि सुनिश्चित गरिनुपर्दछ।” ट्रम्पको भनाइपछि के अनुमान गरिएको छ भने उहाँ युक्रेनका केहि चासोबारे छलफलका लागि तयार हुनुहुनेछ तर नेटो होइन । नेटोमा सहभागी गराउने कुराले युक्रेनलाई रूसको थप आक्रमणको निशाना बनाउने बुझाइ ट्रम्पको छ ।
फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको बैठकमा ‘अनपेक्षित’ तनाब भएको थियो । ट्रम्पका सहयोगीहरूले उक्त बैठकमा जेलेन्स्कीलाई औपचारिक पोशाक (सूट) नलगाएको भनी आलोचना गरेका थिए । जेलेन्स्कीले केलोगसँगको भेटमा आफ्नो ट्रेडमार्क टी–शटसहितको सैन्य पोशाक नै लगाउनुभएको थियो ।
ब्रसेल्समा आइतबार जेलेन्स्कीले सैन्य पोशाकको परिमार्जित संस्करण लगाउनुभएको थियो, जसमा टाई बिना सुट जस्तो ज्याकेट समावेश थियो।
भूभागसम्बन्धी छलफल
ट्रम्पका दूत स्टिभ विट्कफले भने अनुसार, रुसले युक्रेनका पाँच क्षेत्रहरूसम्बन्धी केही लचिलोता देखाएको छ । उहाँले विशेष गरी डोनेत्स्क क्षेत्रको भविष्यबारे सोमबारको बैठकमा विस्तृत छलफल हुने जनाउनुभयो ।
सन् २०१४ मा क्राइमिया र सन् २०२२ मा डोनेत्स्क, खेरसोन, लुगान्स्क र जापोरिज्झिया रुसले एकतर्फी रूपमा कब्जा गरेको थियो, यद्यपि ती सबै भूभागमा पूर्ण सैन्य नियन्त्रण छैन ।
एक सूचनाअनुसार, ट्रम्पले युरोपेली नेताहरूसँगको फोन वार्तामा डोनबास क्षेत्रमा रुसले अहिलेसम्म नपाएको भूभागसमेत उसलाई दिन सकिने सम्भावनामा समर्थन जनाएका थिए । सट्टामा, रुसले खेरसोन र जापोरिज्झियामा अग्रपंक्ति ‘स्थिर’ राख्न सहमत हुने अपेक्षा गरिएको छ ।


















