काठमाडौँ, १२ भदौः देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ ।
डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो ।
स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।
वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत
यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् ।
उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।
–––


















