Prakash Adhikari September 7, 2025

 

पोखरा(कास्की), २२ भाद्र । पोखरामा भइरहेको एभरेष्ट महिला भलिबल लिग प्रतियोगिता अन्तरगत आज भएको खेलमा लुम्बिनी लाभाज र काठमाडौैं स्पाईकर्स विजयी बनेका छन् ।

आजको खेलमा लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा पहिलो जित हात पारेको हो ।

लुम्बिनीले रोमान्चक खेलको चौथो सेटमा म्याच प्वाइन्ट जोगाउँदै पोखरा निन्जाजलाई ३-२ ले पराजित गर्यो। आयोजक टिम पोखराको भने यो लगातार तेस्रो हार हो।

पोखराको बहुउद्देश्यीय कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। उसले २५-१३ ले पहिलो सेट जित्दै १-० को अग्रता बनायो। तर यो लयलाई लुम्बिनीले गुमाउँदा पोखराले उत्कृष्ट कमब्याक गर्यो।

दोस्रो सेट २५-२३ ले जित्दै पोखराले खेललाई १-१ को बराबरीमा पुग्यो। तेस्रो सेटमा भने लुम्बिनीले झनै कमजोर प्रदर्शन गर्यो। सहजै २५-१० ले तेस्रो सेट पोखराले आफ्नो पक्षमा पार्यो। खेलमा पोखराले २-१ को अग्रता बनायो।

यसपछि चौथो सेट भने निकै रोमाञ्चक बन्यो। यो सेटमा २३-२० को अग्रतासँगै पोखराले सेट प्वाइन्ट समेत गुमायो। लुम्बिनीले २८-२६ ले चौथो सेट जितेर खेललाई २-२ को बराबरीमा पुर्यायो।

खेलको निर्णय पाँचौं सेटबाट भयो। पाँचौ सेटमा लुम्बिनीले ४-० को आरामदायी अग्रता बनायो। पोखराले ५-६ को स्थिति सम्म खेललाई ल्यायो। तर यसपछि भने लुम्बिनीले पोखरालाई मौका दिएन।

१५-१० ले पाँचौं सेट जित्दै लुम्बिनीले पहिलो जित दर्ज गर्यो। जारी लिगमा पाँचौं सेटबाट खेलको निर्णय भएको यो पहिलो पटक हो।

यो जितमा लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ। पोखराले भने ३ खेलबाट १ अंक बनायो। आज भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको थियो।‌

भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं स्पाइकर्सले कर्णाली यश्विचको सामना गर्नेछ। दोस्रो खेलमा ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच प्रतिस्पर्धा हुनेछ।‌ कर्णाली र ललितपुर दुवै भोलि तेस्रो जितको योजनामा हुनेछ।

मधेशमाथि काठमाडौंको जित

आजै भएको इडब्लुभीको पहिलो प्रतियोगितामा काठमाडौं स्पाईकर्सले मधेश युनाईटेडलाई पराजित गर्दै पहिलो जित निकालेको छ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको हाँे।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ २६-२४ ले आफ्नो काठमाडौंले बाजी मार्यो। दोस्रो सेटमा मधेश लयमा फर्कियो। २५-२३ ले मधेशले दोस्रो सेट जित्दा मधेशले खेललाई १-१ को बराबरीमा पुर्यायो।

यसपछि तेस्रो र चौथो सेटमा २५-२३ र २५-१९ ले जित्दै काठमाडौंले मधेशलाई ३-१ ले पराजित गर्दै पहिलो जित दर्ज गर्यो।

काठमाडौं र मधेश दुवै आ-आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए।

लिगमा मधेशको यो दोस्रो हार हो। उसले हिजो पोखरा निन्जाजलाई हराएको थियो।

Share Now