Prakash Adhikari September 7, 2025
किएभ, २२ भदौ (रासस/एएफपी) : रुसले आइतबार बिहान युक्रेनमा युद्धको सुरुदेखिको सबैभन्दा ठूलो हवाई आक्रमण सञ्चालन गरेको छ । यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने किएभस्थित युक्रेन सरकारको सिटमा आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।
एएफपीका एक पत्रकारका अनुसार युक्रेनको मन्त्रिपरिषद् भवनको छतमा आगो लागेको थियो र राजधानीमाथि बाक्लो धुवाँ उडिरहेको देखिन्थ्यो । आपत्कालीन सेवाले ड्रोन आक्रमणका कारण किएभका धेरै अग्ला भवनहरूमा क्षति पुगेको पुष्टि गरेको छ ।
साढे तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा मध्यस्थता गरे पनि रुसले कुनै लचकता देखाएको छैन । युरोपेली राष्ट्रहरूले भने हालै मात्र फ्रान्स र बेलायतको नेतृत्वमा शान्ति सम्झौता कार्यान्वयन गर्न गस्ती सेना तैनाथ गर्ने वाचा गरेका थिए, तर मस्कोले यसलाई अस्वीकार्य ठहर गरेको छ ।
युक्रेनको मन्त्रिपरिषद् परिसरमा भएको यो प्रहार युद्धको पहिलो यस्तो आक्रमण हो । घटनास्थलमा पुगेका एएफपीका पत्रकारले उद्धारकर्ताहरूले हेलिकप्टरमार्फत पानी खसाल्दै आगो नियन्त्रणमा लिने प्रयास गरेको देखेका थिए ।
“शत्रुको आक्रमणका कारण भवनको छत र माथिल्लो तल्ला क्षतिग्रस्त भएको छ । उद्धारकर्ताहरूले आगो निभाइरहेका छन्”, प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा लेख्नुभयो, “हामी भवनहरू पुनर्निर्माण गर्नेछौँ तर गुमेको जीवन फर्काउन सक्दैनौँ । शत्रुहरूले हरेक दिन हाम्रो जनतालाई आतङ्कित पारिरहेका छन् ।”

 ८०५ ड्रोन र १३ मिसाइल प्रहार

युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ ।

यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागी समेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि अहोरात्र खटिएका छन् ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भन्नुभयो,“युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।”

प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको छ ।

 

– शिशुको मृत्यु –
एएफपीका पत्रकारहरूले आइतबार बिहान राजधानीमा ठूला विस्फोट सुनेका थिए । युक्रेनको आपतकालीन सेवा विभागले राजधानी किएभको पश्चिममा रहेको नौ तले आवासीय भवनमा भएको आक्रमणमा एक आमा र उनकी दुई महिनाको शिशुको मृत्यु भएको जनाएको छ, भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन् ।
युक्रेनको उद्धार सेवाले भवनमा लागेको आगलागी र त्यसबाट निस्किरहेको धुवाँका तस्बिर सार्वजनिक गरेको छ ।
दुई दर्जनभन्दा बढी युरोपेली देशहरूले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा गस्ती गर्ने वाचा गरेका छन् । कतिपयले भूमिगत सेना पठाउने वचनसमेत दिएका छन् ।
किभले भविष्यमा रुसले पुनः आक्रमण नगर्न सुनिश्चित गर्न पश्चिमी सेनाको समर्थनमा सुरक्षा ग्यारेन्टीहरू अत्यावश्यक हुने बताउँदै आएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा कुनै पनि पश्चिमी सेना अस्वीकार्य हुने र त्यसलाई ‘वैध’ लक्ष्य ठहरिने चेतावनी दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला हप्तामा युद्ध अन्त्य गर्ने प्रयासलाई अघि बढाए पनि अहिलेसम्म खास प्रगति हासिल भएको छैन ।
रुसी सेनाले हालसम्म युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको छ । साढे तीन वर्ष लामो द्वन्द्वमा दशौँ हजार मानिस मारिएका छन्, लाखौं विस्थापित भएका छन् र पूर्वी तथा दक्षिणी युक्रेनका धेरै भाग ध्वस्त भएका छन् । यो द्वन्द्व दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा रक्तपातपूर्ण युद्ध बनेको छ ।
Share Now