Prakash Adhikari September 9, 2025

भक्तपुर, २४ भदौ : भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको निर्धारित चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको छ ।”

कार्यालयले जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्रभित्रको जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना) सम्म, दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको बताउँदै प्रजिअ घिमिरेले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताउनुभयो ।

कास्कीमा आज बिहान ८.०० बजेदेखि 

कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो ।

त्यस्तै गण्डकी प्रदेशसभा आसपासको क्षेत्र उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गर्नुुभएको निषेधाज्ञामा उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यस अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

Share Now