Prakash Adhikari September 9, 2025
काठमाडौं, २४ भाद्र । देशमा शान्ति सुरक्षा कायम राख्न देशका मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । यसै क्रममा रुपन्देही र विराटनगरमा निषेधाज्ञा जारी गरिएको छ भने वीरगञ्जमा निषेधाज्ञाको अवधि बढाइएको छ ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पु्र्याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ ।
विराटनगरमा पनि कर्फ्यू आदेश
 जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ः०० देखि राति १०ः०० बजेसम्म महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज भएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजम सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नालगायत गतिविधिमाथि निषेध गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।
मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दैै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ  ।
वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो
जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ ।
वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ः००  बजेसम्मको लागि बढाइएको हो ।
सोमबार राति ९ः०० बजेदेखि आज बिहान ९ः०० बजेसम्मका लागि निषेधाज्ञा  जारी भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ः०० बजेदेखि अपराह्न ६ः०० बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिनुभयो । “हिजो बेलुका ९ः०० बजेदेखि आज बिहान ९ः०० बजेसम्म लगाइएको कर्फ्यू आदेश जारी भएको  थियो,” उहाँले भन्नुभयो, “यहाँको शान्तिसुरक्षाको अवस्था सहज नभएकाले निषेधाज्ञाको अवधि बढाइएको छ ।”
प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
Share Now