Prakash Adhikari September 10, 2025

प्रदीप बस्याल / बीबीसी न्यूज नेपाली

काठमाडौं, २५ भाद्र । राजधानी काठमाडौंसहित देशभरि आगजनी र तोडफोडका घटनाहरू भएपछि शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी लिएको नेपाली सेनाले बिहीवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू तथा निशेषाज्ञाको आदेश जारी गरेको छ।

सेनाले हाल देशभरि लागु गरिएको निषेधाज्ञा बुधवार बेलुकी ५ बजेसम्म जारी रहने र त्यसपछि बिहीवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी रहने जनाएको छ।

जेन जी युवाहरूको प्रदर्शनमा घातक बल प्रयोग भएपछि आन्दोलन चर्किँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार राजीनामा दिनुभयो। तर प्रदर्शनकारीहरूले काठमाडौं उपत्यकामा विभिन्न सरकारी कार्यालय र संवैधानिक निकायका मुख्यालयहरूमा आक्रमण र आगजनी गरे। अन्य जिल्लामा पनि सरकारी भवन र राजनीतिक दलका कार्यालयहरू उनीहरूको निसानामा परे।

सैनिक प्रवक्ताले ‘परिस्थितिलाई सामान्यीकरण’ गर्ने प्रयासमा सेना जुटेको बीबीसीलाई बताउनुभएको छ। “मुख्य गरी परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने, आगजनी गर्ने र विभिन्न घटनाहरू घटाउने तत्त्वहरूलाई हामी नियन्त्रणमा लिने क्रममा छौँ”, सैनिक प्रवक्ता राजाराम बस्नेतले भन्नुभयो ।

“अहिले आमजनसमुदायलाई परिस्थितिलाई सामान्य नहुन्जेलका लागि मुख्यगरी अत्यावश्यक सेवाहरू सञ्चालन गर्ने र अन्य सर्वसाधारणहरूलाई घरमै सुरक्षित रूपमा रहनका लागि आग्रह गर्दछौँ।”

सेनाको विज्ञप्तिमा बिहीवार बिहानपछिको अवस्थाका लागि परिस्थितिको विश्लेषणका आधारमा थप सूचना जारी गरिने जनाइएको छ।

सहायक रथी बस्नेतले नेपाली सेनाको प्राथमिकता यतिखेर ‘जनताको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षा’मा रहेको बताउनुभएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले मङ्गलवार राति सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक भिडिओ सन्देशमा आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्नुभएको थियो ।

त्यसको पछिल्लो अवस्थाबारे सोधिएको बीबीसीको प्रश्नमा प्रवक्ता बस्नेतले घटनाक्रम विकसित हुँदै गर्दा सोहीअनुसार जानकारी गराइने बताउनुभयो ।

भारतमा विस्तृत छलफल

मङ्गलवार अबेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो भन्नुभएको छ।

“नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ”, मोदीले लेख्नुभएको छ।

“नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु।”

भारतीय विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई नेपालको अवस्था स्थिर नभएसम्म  त्यहाँ यात्रा नगर्न सुझाइएको ‘एड्भाइजरी’ जारी गरेको छ।

दिल्लीले हाल नेपालमा रहेका भारतीय नागरिकहरूलाई आफूहरू अहिले बसिरहेको ठाउँहरूमा आश्रय लिन, सडकमा बाहिर ननिस्कन र सबै आवश्यक सावधानी अपनाउन सल्लाह भनेको छ।

राष्ट्रसङ्घ महासचिवद्वारा विस्तृत अनुसन्धान माग

राष्ट्रसङ्घ महासचिवले समेत नेपाली समय अनुसार बुधवार बिहानै सामाजिक सञ्जाल एक्समा लेख्दै नेपालको परिस्थितिलाई ‘नजिकबाट नियालिरहेको’ बताउनुभएको छ।

“म विस्तृत अनुसन्धान, हिंसा थप चर्कनबाट जोगिन संयम र रचनात्मक बाटो तय गर्नका लागि संवाद गर्न आग्रह गर्दछु”, एन्टोनियो गुटेरसले एक्समा लेख्नुभएको छ।

“प्रदर्शनहरू शान्तिपूर्ण रूपबाट जीवन र सम्पत्तिको सम्मान गर्दै हुनुपर्छ।”

मङ्गलवार नै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालय र यूनिसेफले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए।

Share Now