नोबस्ता(बाँके), २५ भाद्र । नयाँ बानेश्वरमा जेन जीको प्रदर्शनमा नियन्त्रणका अन्य विकल्पहरु प्रयोग गर्न छोडेर निहत्था किशोर किशोरीमाथि अन्धाधुन्ध गोली चलाएर बदनामी कमाएको नेपाली प्रहरी सेनाले सुरक्षाको जिम्मा लिएपछि पनि बदनाम भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका नौबस्तास्थित बाल सुधारगृहबाट भाग्न खोजेका पाँच बालबन्दीको प्रहरीको गोली लागेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
हिजो राति बाल सुधारगृहसँगै रहेको क्षेत्रीय कारागारको गेटबाट बालबन्दीहरू भाग्न खोज्दा सुरक्षार्थ खटिएका प्रहरीको गोली चलाएको थियो। उक्त कारबाहीमा पाँच जनाको मृत्यु भएको नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभएको छ।
‘‘राति १०–११ बजेको समयमा बालकहरू कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षाकर्मीले हवाई फायर गरेर नियन्त्रणमा लिन खोज्दा घटना भयो,ू उहाँले भन्नुभयो । घटनामा दुई जना घाइते भएका छन्।
‘‘सुधारगृहमा रहेका सबै जना जेन जी पुस्ताकै छन्, त्यसैले क्षेत्रीय कारकारका कैदीसँगै मिलेर भग्ने प्रयास गरेका रहेछन्,’’ उहाँले भन्नुभयो।
क्षेत्रीय कारागारबाट १ सय ४९ जना कैदीबन्दी र बाल सुधारगृहबाट ७९ बालबन्दी पनि भागेको सुधार गृहका प्रमुख रानाले जानकारी दिनुभएको छ ।
बाल सुधारगृहमा ९० जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो।
भागेका बालकहरूका अभिभावकलाई सम्पर्क गरेर फिर्ता ल्याइदिन आग्रह गरिएको पनि उहाँले बताउनुभयो
केही बालकहरू आफैँ सम्पर्कमा आउन थालेको उहाँले जानकारी दिनुभएको छ ।
बाल सुधारगृहमा जम्मा १ सय ७६ जना बालबन्दी र क्षेत्रीय कारागारमा ५ सय ८० भन्दा बढी कैदीबन्दी रहेको बताइएको छ।


















