Prakash Adhikari September 10, 2025

काठमाडौँ, २५ भाद्र । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।

नेकपा (एमाले)का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि निस्किनुभएको छ।

केन्द्रीय कारागारका एक जना अधिकृतका अनुसार नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि त्यहाँ रहेकाहरू पनि बाहिरिएका हुन् । ती अधिकृत भन्छन्, ‘अहिले केही फर्किएका पनि छन् ।’

सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी छन् । भागेका १ सय जना महिला कैदीबन्दी बुधबार फर्केका छन् । कारागार स्रोतका अनुसार त्यहाँ ४ सय ५० जना महिला कैदीबन्दी थिए ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागी थुनामा रहेका पूर्व गृह सचिव टेक नारायण पाण्डेले आगजनी हुने सूचना आएपछि निस्केको भन्दै आफू फर्किन तयार रहेको कारागार प्रशासनलाई जानकारी गराउनुभएको छ ।

शरणार्थी प्रकरणमै थुनामा रहेका रायमाझी भने कारागार प्रशासनको सम्पर्कमा आउनुभएको छैन ।

देशका कैयौँ कारागारबाट भागे बन्दी

देशका विभिन्न कारागारहरूबाट कैदीबन्दी बाहिरिएको विवरण आएको छ।

कारागार व्यवस्थापन विभागले तीनवटै सुरक्षा निकाय परिचालन गरेर कैदीबन्दीलाई रोक्ने प्रयास भइरहेको जनाएको छ।

“कहाँबाट कति कैदीबन्दी बाहिरिए भन्ने विवरण सङ्कलन भइरहेको छ। डिल्लीबजार कारागारमा अहिले पनि बाहिर निस्किन खोज्ने कैदीबन्दीलाई रोक्न ठूलो सङ्ख्यामा फौज परिचालन गरिएको छ”, कारागार व्यवस्था विभागका निर्देशक सोमेन्द्र न्यौपानेले बीबीसी न्यूज नेपालीसँग बताउनुभयो।

हिजो नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित कैदीबन्दी बाहिरिँदै गरेको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ।

उक्त कारागारमा करिब १३०० को सङ्ख्यामा कैदीबन्दी रहेका थिए ।

वीरगन्ज कारागारका कैदीहरू पर्खाल फोडेर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली प्रहार गरेर रोक्ने प्रयास गरेको छ।

प्रहरीसँगको झडपमा चार जना कैदीबन्दी घाइते भएको बीबीसी संवाददाता माधुरी महतोले जानकारी दिनुभएको छ । जेलबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर घाइते कैदीहरूको नारायणी अस्पतालमा उपचार जारी छ।

यता चितवन कारागारबाट पनि सबै केदीबन्दी भागेका छन् । पोखराबाट पनि कैदी बन्दी भागेका छन् ।

रसुवा कारगारका सबै कैदी भागे

रसुवा कारागारबाट सबै कैदीबन्दी फरार भएका छन् ।

कारागारमा रहेका सबै ९८ जना कैदी तोडफोड गरेर भागेको रसुवा कारागारका जेलर कैलाश देवकोटाले बताउनुभएको छ।

यसरी भाग्ने मध्ये कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि छन् । उनीमाथि अपहरण र व्यक्ति हत्याको मुद्दामा थियो ।

उनले अझै २ वर्ष कैद भुक्तान गर्न बाँकी नै थियो । त्यसपछि पनि अन्य ठाउँहरूमा मुद्दा रहेकोले प्रहरीले रसुवाबाट छुटेपछि लाने बताउँदै आएको थियो ।

डडेल्धुरा कारागार तोडेर भागे ८५ कैदीबन्दी, २६ जना फेरि पक्राउ

डडेल्धुरा कारागारका कैदीबन्दी तोडफोड र आगजनी गरेर भागेका छन्। बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका छन्।

तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताउनुभयो ।

उहाँका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्।

तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जेलर भट्टले बताउनुभयो।

कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन्।

डलेलधुरामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

भीमफेदीबाट २६० कैदीबन्दी भागे, दुई जना गोली लागेर घाइते

मकवानपुर क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्।

कारागारको क ब्लकमा रहेका कैदीबन्दीहरूले तीन वटा गेट फुटाएर पश्चिम पर्खाल भत्काएर भागेका थिए।

झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् र सेनाले २०० हवाई फायर गरेको छ।

ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकोमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएको छ ।

झडपमा सेनाले चलाएको गोली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

कैदीबन्दीहरूले कारागारमा तोडफोड र आगजनी गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेको थियो ।

सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको छ ।

रौतहट कारागारबाट २ सय ६० कैदी फरार

कारागार कार्यालय गौर, रौतहटबाट २ सय ६० जना कैदीबन्दी मङ्गलवार राति फरार भएका छन् । फरार भएकामध्ये दुई महिला र २ सय ५८ पुरुष रहेका छन् ।

जेनजी प्रदर्शनको मौका पारेर कारागारबाट कैदीबन्दीहरू फरार हुन सफल भएको कारागार कार्यालय गौर, रौतहटका प्रमुख मनिष झाले जानकारी दिनुभयो ।

गौर कारागारमा २ सय ९१ जना कैदी बन्दी रहेकोमा ३१ जना फरार नभइ कारागारमै बसेको कारागार कार्यालय रौतहटले जनाएको छ । फरार २ सय ६० जना कैदी बन्दीमध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कारागार कार्यालय रौतहटका प्रमुख झाले बताउनुभयो ।

अहिले कारागार कार्यालय रौतहटमा ६२ जना कैदीबन्दी रहेका छन् । ६२ जना कैदी बन्दी मध्ये ६ जना महिला रहेका छन् । फरार कैदीबन्दिको खोजी कार्य जारी रहेको कारागार कार्यालय रौतहटका प्रमुख प्रमुख झाले जानकारी दिनुभयो ।

कपिलवस्तु कारागारबाट कैदी बन्दी फरार

जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट ठुलो सङ्ख्यामा कैदी बन्दीहरू फरार भएका छन्। कारागारमा रहेका कुल ४ सय ७० जनामध्ये ३५ जनाबाहेक अन्य कैदी बन्दीहरू भागेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो।

आज बिहान ७ बजेतिर कारागारबाट भागेका कैदी बन्दीहरूले नजिकै रहेको कपिलवस्तु जिल्ला अदालतमा समेत तोडफोड र आगजनी गरेका छन्। आगजनीका कारण अदालतका महत्त्वपूर्ण कागजातहरू जलेका छन् भने भवनको संरचना र अन्य उपकरणहरूमा पनि क्षति पुगेको छ।

प्रजिअ तामाङका अनुसार फरार कैदी बन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म २५ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी कार्य जारी रहेको उनले बताए। यो घटनाले कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

कारागार विभागले सुनसरीबाट १५७५, चितवनबाट ७००, कञ्चनपुरबाट ४५०, रुकुम पश्चिम ७२, कैलाली ६१२, सोलु ८६, तुल्सीपुर १२४, जुम्ला ३६, म्याग्दीबाट ६२, जलेश्वर ५७६, बझाड. ६५ र कास्कीबाट ७७३ जना कैदीबन्दी कारागार तोडेर बाहिर निस्केका छन् ।

Share Now