सञ्जय ढकाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, २७ भाद्र । जेन जी आन्दोलनमा ठूलो मानवीय क्षति भएको भोलिपल्ट हिंसात्मक प्रदर्शन, आगजनी तथा तोडफोडका कारण देशभरि निजी क्षेत्रको दशौँ अर्ब रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको व्यवसायीहरूले बताएका छन्।
क्षतिको यकिन विवरण सङ्कलनको काम भर्खर सुरु भएको र स्पष्ट चित्र आउन केही दिन लाग्ने उनीहरूले बताएका छन्।
व्यवसायीका अगुवाहरूले चाँडोभन्दा चाँडो शान्ति सुरक्षा पुनर्बहाली तथा जिल्लाजिल्लामा निर्बाध ढुवानी तथा व्यवसायका निम्ति सेनाले सहयोग गर्नुपर्ने बताएका छन्।
कहाँ-कहाँ के भयो?
व्यवसायीका शोरूम, होटल, व्यवसाय, सुपरस्टोर, निजी आवासलगायत विभिन्न ठाउँहरूमा व्यापक तोडफोड, आगजनी र लुटपाट भएका विवरणहरू आएका छन्।
काठमाडौंमा करिब एक वर्ष गाडि सञ्चालनमा आएको पाँचतारे हिल्टन होटल मङ्गलवार जलेर ध्वस्त भयो। त्यो एउटा घटनामा मात्रै ८ अर्ब रुपैयाँसम्मको क्षति भएको हुन सक्ने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो ।
मङ्गलवार अपराह्ण त्यहाँ हुलले आगजनी तथा तोडफोड गरेको थियो। त्यसको केही सय मिटर उत्तरमा रहेको भाटभटेनी सुपरस्टोर पनि केही क्षणमै आगोमा झोसियो।
व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा भएको भाटभटेनी सुपरस्टोरका देशभरि रहेका एक दर्जनभन्दा बढी शाखामा पूर्ण वा आंशिक क्षति भएको देखिएको छ।
ती स्टोरहरूमा अर्बौँ रुपैयाँको सम्पत्ति क्षति भएको अनुमान गरिएको छ।
थापाथलीस्थित सेन्ट्रल बिज्नेस पार्कमा रहेको कान्तिपुर मिडिया ग्रूप ध्वस्त भएको छ भने सोही क्षेत्रमा रहेका गाडीका शोरूमहरू पनि ध्वस्त भएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको काठमाडौंको चन्द्रागिरि तथा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेका केबलकारका बेस स्टेशनहरू क्षतिग्रस्त भएका, पूर्व अध्यक्ष शेखर गोल्छाका घर तथा कार्यालय, उद्योगी विनोद चौधरीका घर तथा शोरूमसहित थुप्रै व्यवसायीहरूलाई क्षति पुगेको महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले बताउनुभएको छ ।
व्यवसायीहरू कैलाश सिरोहिया र उपेन्द्र महतोका व्यवसाय तथा आवासमा धेरै क्षति पुगेको छ।
काठमाडौंबाहिर विराटनगर, पोखरा र चितवनमा समेत धेरै ठाउँमा निजी व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको विवरण आएको छ।
“अहिले हामी दुईवटा काम गरिरहेका छौँ। सर्भे फारम पठाएर यकिन क्षति विवरण सङ्कलनको काम भर्खरै सुरु गरेका छौँ। अनि निर्बाध ढुवानी तथा बजारमा सामानको अभाव नहोस् भन्नाका लागि सुरक्षाको प्रत्याभूतिका निम्ति (सेनालाई) आग्रह गरेका छौँ”, अवस्थीले भन्नुभयो।
शान्ति सुरक्षा कायम गर्न आग्रह
शान्ति सुरक्षा बहाल गरेर निजी क्षेत्रलाई विश्वासमा लिन व्यवसायीहरूले आग्रह गरेका छन्।
“सरकारले अनि सेनाले निजी क्षेत्रसँग समन्वय गर्नु पर्ने कुराहरू छन्। किनभने युवाहरूको माग सम्बोधन गर्न पनि निजी क्षेत्रको सहभागिता आवश्यक हुन्छ। श्रम, रोजगारी तथा आर्थिक समृद्धिको कुराका निम्ति निजी क्षेत्र आवश्यक हुन्छ”,महासङ्घका उपाध्यक्ष वैद्यले भने।
हजारौँ कैदीबन्दीहरू जेलबाट निस्किएका विवरणहरू रहेकाले जिल्ला जिल्लामा पनि शान्ति सुरक्षाको विषय महत्त्वपूर्ण भएको उहाँले औँल्याउनुभयो।
“हामीले हाम्रा अध्यक्षलाई यस विषयमा सेनापतिसँग कुराकानी गर्न अनि केन्द्र तथा जिल्लाहरूका सुरक्षा समितिमा निजी क्षेत्रको सहभागिता रहनुपर्छ भनेका छौँ”, वैद्यले भन्नुभयो ।
जिल्ला सुरक्षा समन्वय परिषद्हरूमा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू राखेर भन्सार नाका खुलाउन सहजीकरण, सामानको ढुवानी तथा आपूर्ति र व्यवसाय सञ्चालनका लागि सघाउन आग्रह गरिएको अवस्थीले बताउनुभयो।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि अनिश्चय हटाउनका लागि सकेसम्म चाँडो अन्तरिम सरकार बन्नुपर्ने धारणा राख्नुभयो ।
“धेरै नै क्षति भएको छ जसबारे हामी सोधपुछ गरिरहेका छौँ। कम्तीमा अन्तरिम सरकार भइदिए अनि यो अनिश्चय चाँडै नै हटिदिए हुने थियो”, पाण्डेले भन्नुभयो ।
जेन -जीका अगुवाहरुलाई कसले दुरुपयोग गर्यो?
जेन जी पुस्ताले भाद्र २३ गते सुरु गरेको आन्दोलनले नेपालका इतिहास र गौरवको रुपमा रहेका कार्यपालिकाको प्रशासनिक भवन सिंहदरबार, न्यायालयको धरोहर सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार,अख्यिार भवन, महान्यायाधिवक्ताको कार्यालय, मन्त्रीहरुको सरकारी निवास देखि प्रदेश, जिल्ला र पालिकासम्मका मुख्य मुख्य सरकारी कार्यालय र राजनीतिक एवम् प्रशासकहरुको निजी निवास जलाएर खरानी बनाएको छ ।
त्यसबाहेक आफ्नो पुख्यौली सम्पत्ति लगाएर, बैंकको ऋण लिएर, आफ्नो ज्ञान वा बुद्धिले उद्यम व्यवसाय चलाएका नेपाली उद्योगी ब्यापारीका उद्यमलाई खरानी बनाएर यो देशलाई हरिकंगाल बनाउन मद्दत गरेको छ । अब नेपालमा स्वदेशी उद्यमी र व्यवसायीले लगानी गर्न हजारपटक सोच्नुपर्छ भने विदेशी लगानी त आउने संभावना नै छैन । देशलाई कमजोर र हरितन्नम बनाउने कार्यमा जेन जीका अगुवाहरुलाई कसले दुरुपयोग गर्यो । नयाँ पुस्ताले त देश बनाउछु भनेको थियो । उनीहरुको माग अनुसार ओली सरकारले राजिनामा दिएकै थियो । त्यसपछि देशभर आगजनी र तोडफोडको सिलसिला किन चलाइयो ?
(बीबीसीका सञ्जय ढकालको रिर्पोटसहित)


















