-फणीन्द्र दाहाल/ बीबीसी न्यूज नेपाली
काठमाडौं, ७ असोज । अध्यागमन विभागका अधिकारीहरूले पछिल्लो जेन जी आन्दोलनका क्रममा जेलबाट भागेका भारतीय कैदीहरूको खोजी गर्न र उनीहरूलाई कालोसूचीमा राख्न चुनौती देखा परेको बताएका छन्।
नेपालका जेलहरूमा रहेका साढे ३० हजार कैदीहरूमध्ये लगभग आधा हालै जेन जी आन्दोलनपछिको हिंसा र भद्रगोलमाझ भागेका थिए। त्यसमध्ये करिब सात हजार आइतवार अपराह्नसम्म कारागारहरूमा फर्किएको अधिकारीहरूले जनाएका छन्।
कारागार व्यवस्थापन विभागले अध्यागमन विभागलाई १,७०० भन्दा बढी फरार विदेशी कैदीबन्दीलाई कालोसूचीमा राख्न पत्राचार गरेको छ।
प्रहरीले जेलबाट भागेका विदेशी कैदीहरूको खोजीका लागि सीमा क्षेत्रमा निगरानी बढाइएको बताएको छ।
यसैबीच अध्यागमन विभागका प्रवक्ताले कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारी दिनुभएको छ।
भाग्ने विदेशी कैदीमध्ये धेरै भारतीय, कालोसूचीमा राख्न अप्ठेरो
अधिकारीहरूका अनुसार अध्यागमन विभागलाई उपलब्ध गराइएको विवरणमा १,५०० भारतीय कैदीहरू फरार भएका उल्लेख गरिएको छ। उक्त विवरणमा चीन, अमेरिका, नाइजिरिया, तान्जनीयासहितका देशका केही बन्दीहरू पनि भागेका उल्लेख गरिएको छ। तर तीमध्ये कति फर्किए भन्नेबारे अधिकारीहरूले यकिन सङ्ख्या सार्वजनिक गरिसकेका छैनन्।
तर अधिकांश भारतीय कैदी बन्दीहरूसँग राहदानी र आधारकार्डस्ता परिचयपत्र नभएकाले उनीहरूलाई आफ्नो कालोसूचीमा राख्न गाह्रो भएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बीबीसीलाई बताउनुभएको छ।
कारागार व्यवस्था विभागका महानिर्देशकसहितका अधिकारीहरूले फरार कैदीबन्दीको खोजीको उपायबारे अध्यागमन विभागका उच्च अधिकारीहरूसँग आइतबार छलफल गरेका थिए।
त्यसक्रममा भारतीय बन्दीहरूका खोजी कार्यमा जटिलता देखा पर्न सक्ने भन्दै एउटा कार्यदल गठन गरेर अघि बढ्नेबारे छलफल भएको थियो।
ढकालले बीबीसीसँग भन्नुभयो, “हाम्रो जेलमा रहेका धेरै भारतीय बन्दीहरूको पासपोर्ट पनि छैन। आधारकार्ड नम्बर पनि छैन। कारागार व्यवस्था विभागको स्फटवेअर प्रणालीमा त्यस्ता बन्दीहरूको नाम नेपालीमा उल्लेख गरिएको रहेछ। पासपोर्ट नम्बर पनि नभएको र अङ्ग्रेजीमा नाम अभिलेखमा पनि नराखिएको कारणले गर्दा त्यस्ता व्यक्तिहरूलाई कालोसूचीमा राख्न हामीलाई अलिकति समस्या भइरहेको छ।”
“जसको पासपोर्ट छ, उनीहरूलाई कालोसूचीमा राख्ने काम अघि बढिसकेको छ। जसको केही विवरण छैन, त्यसका लागि कारागार र अध्यागमन अधिकारीसहितको एउटा टोली बनाएर त्यसको विवरण यकिन गर्न एउटा समिति गठन गर्ने भन्ने छ। टास्कफोर्स नै बनाएर लाग्नुपर्यो भन्ने देखिएकाले हामीले अहिले त्यो पहल गरिरहेका छौँ।”
अध्यागमन विभागले कालोसूचीमा राखेको खण्डमा कुनै पनि स्वदेशी वा विदेशी नागरिकहरूलाई देश छाड्न वा फर्कन रोक लाग्ने गर्छ।
- ६ हजार ९ सय २८ जना जेल फर्किए
- १४ हजार ५ सय ५६ जना देशभरिका जेलबाट भागेका थिए
- ७ हजार ६ सय २७ जना अझै फरार छन्
- १० जनाको भाग्न खोज्दा गोली लागेर मृत्यु भएको छ
नेपाली नागरिकहरूको हकमा नागरिकता नम्बर प्रमाणित भएर आइसकेपछि त्यो कार्यदलले ती व्यक्तिहरूलाई राहदानी जारी नगर्न राहदानी विभागलाई पत्राचार गर्ने निष्कर्ष निकालिएको ढकालले सुनाउनुभयो।
“यदि राहदानी नै जारी भइसकेको रहेछ भने उहाँहरूको नागरिकता नम्बरका आधारमा हामीले उहाँहरूको पासपोर्टलाई कालोसूचीमा राख्न सकिन्छ।”
कारागार व्यवस्थापन विभागका अधिकारीहरू के भन्छन्?
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पक्राउ पर्ने क्रम जारी छ र अध्यागमन विभागसँग पनि समन्वय भइरहेको छ।
उहाँले थप्नुभयो, “हामीले राहदानी, नागरिकता भएका कैदीहरूको विवरण र नभएकाहरूको विवरण उहाँहरूलाई बुझाइसकेका छौँ। कुन कारागारबाट कति विदेशी भागे भनेर हामीले तथ्याङ्क निकाल्न भनेका छौँ।”
नेपालबाट निस्कन राहदानी चाहिने भएकाले अन्य देशका कैदीबन्दीहरू फर्कने सम्भावना धेरै रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँ भन्नुहुन्छ, “विदेशीहरूको आउने क्रम पनि जारी छ किनभने उनीहरूलाई राहदानी नभईकन यात्रा गर्न गाह्रो हुन्छ। नेपालीहरूलाई पनि कस्तो हुन्छ भने, गएर समाजमा फर्किएर घुलमिल हुन गाह्रो हुन्छ। छिमेकी र आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गर्छन्। फेरि कारागारमा आएर बस्नुपर्दा उनीहरूलाई थप सजाय हुन्छ। त्यही भएर उनीहरू फर्किरहेका छन्।”
कारागार र प्रहरीका उच्च अधिकारीहरूले अहिलेसम्म फिर्ता आएका विदेशी कैदीबन्दीको यकिन सङ्ख्या सार्वजनिक गरेका छैनन्। तर भारतीय, नेपाली र अन्य देशका कतिपय कैदीहरू नेपाल(भारत सीमानाकामा पक्राउ परेका खबरहरू प्रकाशमा आएका छन्।
भागेर अन्यत्र पुगेका कैदीहरूका हकमा विदेशस्थित निकायहरूमार्फत् पनि समन्वयको प्रयास गरेको निर्देशक न्यौपानेले बताए।
रूपन्देही कारागारका प्रशासक सुरेश भण्डारीले लागुऔषध मुद्दामा जोडिएका तान्जनीयाका दुई बन्दी प्रहरीले पक्राउ गरी आफूलाई सुम्पेको बताए।
“विगतमा एक केजी कोकेनसहित पक्राउ परेका उनीहरू काठमाडौंबाट फरार भएका थिए। प्रहरीले पक्राउ गरेर बुझाएपछि अहिले रूपन्देही कारागारमा छन्। माथिबाट आउने निर्देशनका आधारमा उनीहरूलाई के गर्ने भन्ने निर्णय हुन्छ।”
नेपाल प्रहरीले के गरिरहेको छ?
नेपाल प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई भागेका कैदीहरू पक्राउ गर्न काठमाडौं वरपरका नाका र सीमा क्षेत्रमा सुरक्षा बढाइएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “मुख्य नाकाहरूमा कैदीहरूलाई लक्षित चे पोइन्टहरू राखेका छौँ। त्यही कुरालाई केन्द्रित गरेर हामीले सादा पोसाकमा प्रहरीहरू पनि खटाएका छौँ। बाहिर मानिस जानुभन्दा अघि उसको आपराधिक पृष्ठभूमि छ कि छैन भनेर जाँच गर्नका लागि हामीले विमानस्थलमा पनि तथ्याङ्क नै पठाएका छौँ।”
उहाँले सीमावर्ती जिल्लाहरूमा प्रहरी एकाइहरूले आफ्ना भारतीय समकक्षीसँग नियमित छलफल गरिरहेको पनि सुनाउनुभयो ।
भारतसँग खुला सीमा रहेकाले नेपालबाट त्यस्ता कैदीबन्दीहरू भागेर पारि जान सक्ने जोखिम कतिपय विज्ञहरूले औँल्याउँदै आएका छन्। यसबीचमा नेपाल(भारत सीमा नाकामा कडाइ गरेका पनि खबरहरू आएका थिए।
विभिन्न कारागारबाट भागेका सबै कैदीबन्दीहरू नफर्केमा विशेष सुरक्षा कारबाहीमार्फत् उनीहरूलाई फर्काइने अधिकारीहरूले बताउँदै आएका थिए।
फर्केर नआउनेलाई के सजाय हुन्छ?
कारागार व्यवस्था विभागका अधिकारीहरूका अनुसार सम्बन्धित कारागार प्रशासकले फरार रहेका कैदीबारे प्रहरीमा प्रतिवेदन बुझाउन थालिसकेका छन्।
न्यौपानेले थप्नुभयो, “प्रहरीले अनुसन्धान अधिकारी तोकिसकेपछि सरकारी वकिलमार्फत् मुद्दा दायर भएर थप सजाय हुन्छ। यदि झ्याल, ढोका वा पर्खाल भत्काएर भागेमा वा कारागारभित्र हुलदङ्गा गरेमा वा आगजनी गरेमा १० वर्षसम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। भागेको छ, तर अरू केही गरेको छैन भने ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।”
कारागार व्यवस्था विभागका अनुसार देशभरका २८ वटा कारागारबाट १३ हजार ५ सय ९२ बन्दी भागेका थिए। त्यसबाहेक नौ वटा बालसुधार गृहबाट ९ सय ६४ जना भागेका थिए।
त्यसमध्ये कारागारतर्फका ६ हजार ५ सय ८७ र बालसुधार गृहतर्फका ३ सय ४१ जना आइतवार अपराह्नसम्म फर्किएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।
भाग्ने क्रममा कारागारमा पाँच जना र बालसुधार गृहमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।


















