नयाँदिल्ली(भारत),३१ साउन । भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्समा ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको छ।
मृगौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातिमा रगत जम्ने रोगबाट ग्रसित बाजपेयी जुन ११ देखि अस्पतालमा भर्ना भएका थिए।
सन् १९२४ मा जन्मिएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए। तर, संसदमा बहुमत उनको पक्षमा नदेखिएपछि उनले पदबाट राजीनामा दिएका थिए।
भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री बनेका थिए। पहिलो पटक सन् १९९६ पछि उनी सन् १९९८देखि १९९९ प्रधानमन्त्री बने । उनी सन १९९९ देखि २००४ सम्म भारतका प्रधानमन्त्री बनेका थिए।


















