क्वालालम्पुर (मलेशिया), २२ असोज । मलेशिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज श्रृखलाको अन्तिम तथा पाँचौ खेलमा घरेलु टोलीसंग प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको बायुमास ओभलमा घरेलु टिमले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गरिरहेको छ ।
१५ औं ओभरको अन्त्यमा मलेशियाले ३ विकेटको क्षतिमा ७५ रन जोडेको छ ।
पाँच खेलको टी २० श्रृखलामा दुवै टिमले २–२ को जित निकालेकोले यो खेल दुवैका लागि महत्वपूर्ण छ। आजको खेललाई निर्णायक मानिएको छ । दुवै टिम आजको खेल जित्दै सिरिज जित्ने दाउमा छन्।
मलेशियाले पहिलो र तेस्रो खेल जितेको थियो भने नेपालले दोस्रो र चौथो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो।
नेपालले टी २० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो।
हजार रन प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन् कप्तान इन्दु
ं
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले टी–२० आई क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। उनी हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन्।
मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्धको चौथो खेलमा उनले ४८ अविजित रन बनाएर नेपाललाई ६ विकेटको जित दिलाइन्।
सन् २०१९ देखि सिनियर टोलीमा रहेकी इन्दुले अहिलेसम्म ७० इनिङ्स खेलेकी छन्। उनले यी इनिङ्समा एक अर्धशतकसहित एक हजार ३३ रन जोडेकी छन्। १८.७८ को औसत र ८३.७१ को स्ट्राइक रेटमा उनले ७७ चौका र तीन छक्का प्रहार गरेकी छन्।
इन्दुको एक मात्र अर्धशतक सन् २०२१ नोभेम्बर १६ मा कतारविरुद्ध दोहामा आएको थियो। त्यस खेलमा उनी ५५ रन बनाएर ‘रिटायर्ड हर्ट’ भएकी थिइन्। त्यसपछि उनले त्यो व्यक्तिगत कीर्तिमान नाघ्न सकेकी छैनन्।
उनलाई भेट्रान अलराउन्डर सीता रानामगरले पछ्याइरहेकी छन्। ५९ इनिङ्समा उनले एक अर्धशतकसहित ९ सय ६५ रन प्रहार गरेकी छन्।
पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ९ सय ३६ रन पुर्याएकी छन् भने उपकप्तान पूजा महतोले मात्र ३४ इनिङ्समै ५ सय १६ रन जोडेकी छन्।


















