काठमाडौं, असोज २६। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा जाहेरी दिएको हो ।
विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।
नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । उनीहरुले २४ घण्टाभित्र बालेन र सुधनलाई पक्राउ गरी अनुसन्धान गरी कारबाही गर्ने माग राखेका छन् ।
यसअघि सुधन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए । त्यसलगै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।


















