मस्कट(ओमान), २६ असोज । नेपालले आइसीसी पुरुष टी २० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा आज संयुक्त अरब इमिरेट्स (युएई)संग खेल्दैछ ।
खेलको पहिलो शुभसंकेत मानिने टस नेपालले जितेको छ र नेपालले पहिले ब्याटिङ रोजेको छ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ को मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।
खेलाडीतर्फ जापान विरूद्धको खेलको सुरूवाती ११ लाई प्रशिक्षक स्टुवार्ट लले निरन्तरता दिएका छन्।
नेपाल र युएई दुवैको लागि विश्व कप छनोट र उपाधि जित्ने सम्भावना बलियो बनाउनका लागि आजको खेल निकै महत्वपूर्ण छ।
समान २ अंकसहित अघि बढेका यी दुई टोली जारी छनोटमा अपराजित छन् । आजको खेलमा एउटा टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ। जित्ने टोलीले भने विश्व कप छनोटसँगै उपाधितर्फ एक कदम अघि बढ्नेछ।
नेपाल र युएई दुवै टोलीले समूहचरणबाट समान २ अङ्क लिएर सुपर सिक्समा पुगेकाले आज जित निकाल्ने टिम विश्वकप छनोटमा बलियो बन्ने भएकाले पनि यो खेल महत्त्वपूर्ण हुनेछ।
समूह ‘बी’ को विजेताका बनेको नेपालले समूहचरणको अन्तिम खेलमा जापानलाई हराएको थियो। त्यसअघि पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।
युएईले भने समूह ‘ए’ मा मलेसिया र कतारलाई हराएर समूह विजेता बनेको थियो। टी २० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १० खेल भएका छन्। जसमा दुवै टोलीले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन्।




















