Prakash Adhikari October 15, 2025

मस्कट(ओमान), ३० असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको तेस्रो खेल पनि नेपालले जितेको छ ।

ओमानको राजधानी मस्कटमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनको अन्तरले हराएको छ ।

नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ । नेपालले अव समोआसंग खेल्न बाँकी छ ।

बुधवारको खेलमा नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनायो । ओमानका लागि विनायक शुक्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट  ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए ।

राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

नेपाललाई रोक्ने क्रममा ओमानका लागि नदिम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो ।

Share Now