Prakash Adhikari October 18, 2025

 

  • ओस्मन्ड चिआ
    वाणिज्य संवाददाता(बीबीसी)

सिंगापुर, १ कार्तिक । गत साता चिनियाँ वाणिज्य मन्त्रालयले एउटा दस्तावेज प्रकाशित गर्‍यो, जसको नाम थियो ,”सन् २०२५ को घोषणा नं ६२”।

तर त्यो कुनै साधारण प्रशासनिक सन्देश थिएन। त्यसले अमेरिकासँग भएको धरमराउँदो व्यापार सम्झौतालाई हल्लाइदियो।

घोषणामा ‘दुर्लभ खनिज (रेअर अर्थ)’को निर्यातमा लगाइएका नयाँ प्रतिबन्धहरूबारे विस्तृत रूपमा समेटिएको थियो, जसले उक्त पदार्थको न्तर्राष्ट्रिय आपूर्तिमाथि बेइजिङको पकडलाई अझ बलियो बनाएको छ र व्यापार युद्धमा चीनले कति लाभ लिन्छ भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई स्मरण गराएको छ।

स्मार्टफोनदेखि लडाकु विमानसम्म सबै सामानको निर्माणका लागि आवश्यक पर्ने दुर्लभ खनिज पदार्थको प्रशोधनमा चीनको लगभग पूरै एकाधिकार रहेको छ।

‘रेअर अर्थ’रासायनिक हिसाबले समान रहेका १७ वटा तत्त्वहरू हुन्, जुन मुख्यतः उच्च प्रविधि उत्पादनका लागि आवश्यक पर्छन्।

तीमध्ये अधिकांश प्रकृतिमा प्रचुर मात्रामा पाइन्छन्, तर शुद्ध रूपमा पाउन आसामान्य र निकाल्न खतरनाक हुने भएकाले त्यसलाई दुर्लभ भनिएको हो।

नयाँ नियमानुसार विदेशी कम्पनीहरूले निकै थोरै मात्रामा भए पनि अब ती उत्पादनहरूको निर्यातका निम्ति चिनियाँ सरकारको अनुमति लिनुपर्ने हुन्छ र त्यसको प्रयोगबारे खुलाउनुपर्ने हुन्छ।

त्यसको जवाफस्वरूप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथि अतिरिक्त सय प्रतिशत ट्यारिफ लगाउने घोषणा गर्नुभएको छ र प्रमुख सफ्टवेअरमाथि निर्यात नियन्त्रण गर्ने चेतावनी दिनुभएको छ ।

‘यो भनेको चीन एकतर्फ र बाँकी विश्व अर्कोतर्फ हुनु हो। उनीहरूले सिङ्गो स्वतन्त्र विश्वको आपूर्ति प्रणाली तथा औद्योगिक आधारलाई निसाना बनाएका छन्। हामी त्यसलाई सहन सक्दैनौँ’, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले भन्नुभयो।

बिहीवार चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले त्यसको प्रतिवाद गर्दै सेप्टेम्बरमा मड्रिडमा चीन-अमेरिका अर्थ तथा व्यापार वार्तालगत्तै भन्नुभयो, “चिनियाँ पक्षको तर्फबाट बारम्बार सहमति व्यक्त भइरहँदा अमेरिकी पक्षले मात्र २० दिनमा चीनलाई दबाउन २० वटा नियम लागु गर्‍यो।”

चर्कँदो व्यापार युद्ध

यो साता विश्वका दुई ठूला अर्थतन्त्रहरूले एकअर्काका पानीजहाजहरूको हकमा नयाँ बन्दरगाह शुल्क लगाएका छन्।

व्यापार युद्ध चर्किएसँगै गत मे महिनामा अमेरिकी तथा चिनियाँ उच्च अधिकारीहरूबीच भएको सम्झौताले तुलनात्मक रूपमा ल्याएको सहजतालाई अन्त्य भएको छ।

यसै महिनाको अन्त्यतिर ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता हुने अपेक्षा गरिएको छ र ‘रेअर अर्थ’माथि लगाएका प्रतिबन्धहरूका कारण अमेरिकाको हात माथि रहने विज्ञहरूले बीबीसीलाई बताएका छन्।

अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय व्यापार विषयका लेक्चरर नाओइस मक्डोनागका अनुसार नयाँ चिनियाँ नियन्त्रणले अमेरिकी आपूर्ति सञ्जाललाई लक्ष्यित गरेकाले ‘प्रणालीलाई स्तब्ध’ तुल्याउने छ।

“अमेरिकीहरूले संवादका लागि चाहिरहेको समयसीमालाई यो समयले बिथोलिदिएको छ”, उहाँले अगाडि थप्नुभयो ।

सौर्य प्यानल, विद्युतीय कार र सैन्य उपकरणहरूको उत्पादनका लागि ‘रेअर अर्थ’हरूको आवश्यकता पर्छ।

उदाहरणका निम्ति एउटा एफ(३५ लडाकु विमान बनाउन त्यसको स्टेल्थ कोटिङ, मोटरहरू, रेडारहरू र अरू पार्टपुर्जाका निम्ति ४०० किलोग्रामभन्दा बढी दुर्लभ खनिज चाहिन्छ।

चीनको दबदबा

परामर्शदाता कम्पनी न्यूल्यान्ड ग्लोबल ग्रूपकी नताशा झा भास्करका अनुसार विद्युतीय सवारीसाधनमा चुम्बकका लागि प्रयोग हुने धातुको करिब ७० प्रतिशत हिस्सा चीनले निर्यात गर्छ।

चीनले ‘रेअर अर्थ’को प्रशोधनमा दबदबा कायम राख्न कडा मेहनत गरेको यूनिभर्सिटी अफ टेक्नोलजी सिड्नीस्थित अनुसन्धानकर्ता मरिना झाङ्ग बताउनुहुन्छ ।

उक्त क्षेत्रका लागि उसले व्यापक प्रतिभाहरू तयार पारेको छ र उसका अनुसन्धान तथा विकास सञ्जाल अरू प्रतिस्पर्धी मुलुकहरूको भन्दा धेरै वर्ष अगाडि रहेको उहाँ अगाडि थप्नुहुन्छ ।

संयुक्त राज्य अमेरिका र अरू देशहरूले दुर्लभ खनिजको चिनियाँ आपूर्तिका विकल्पहरूमा व्यापक लगानी गरिरहे पनि त्यो लक्ष्य प्राप्तिमा तिनीहरू अझै टाढा छन्।

ठूलो मात्रामा दुर्लभ खनिज भण्डारण रहेको अस्ट्रेलियालाई चीनका लागि एउटा सम्भावित चुनौतीको रूपमा हेरिँदै छ।

तर उसको उत्पादन पूर्वाधार अझै विकसित भइसकेको छैन, जसले प्रशोधनलाई तुलनात्मक रूपमा महँगो बनाउने झाङ्ग बताउनुहुन्छ ।

“अमेरिका र उसका साझेदारहरूले दुर्लभ खनिज प्रोसेसिङलाई राष्ट्रिय गौरवको आयोजना बनाएको खण्डमा पनि चीनको तहमा पुग्नका लागि कम्तीमा पाँच वर्ष लाग्ने देख्छु म”, उहाँले थप्नुभयो।

बेइजिङले गत एप्रिलमा घोषणा गर्दा विश्वव्यापी आपूर्तिमा सङ्कट निम्त्याएको कदमलाई नयाँ प्रतिबन्धहरूले विस्तार गरेका छन्। त्यस बेला युरोप र अमेरिकाले एकपछि अर्को सम्झौता गरेपछि त्यो अभाव टरेको थियो।

एक वर्षअघिको तुलनामा यो वर्ष महत्त्वपूर्ण खनिजको निर्यात ३० प्रतिशतले घटेको चीनको नयाँ तथ्याङ्कले देखाएको छ।

तर निर्यातमा देखिएको कमीका कारण चिनियाँ अर्थतन्त्रमा असर नपर्न सक्ने विश्लेषकहरू बताउँछन्।

मौद्रिकभन्दा कूटनीतिक मूल्य बढी

न्यूयोर्क विश्वविद्यालयस्थित प्राध्यापक सोफिआ कलान्त्जाकोसका अनुसार चिनियाँ अर्थतन्त्रमा दुर्लभ खनिजको योगदान एकदमै सानो अर्थात्‌ १८.७ ट्रिलिअन डलर मात्र रहेको छ।

केही अनुमानका अनुसार ‘रेअर अर्थ’ निर्यातको मूल्य चिनियाँ जीडीपीको ०.१ प्रतिशतभन्दा पनि कम रहेको छ।

चिनियाँ अर्थतन्त्रमा दुर्लभ खनिजको योगदान सानो भए पनि अमेरिकासँगका वार्ताहरूमा लाभ पुर्‍याउने भएर त्यसको रणनीतिक मूल्य ठूलो रहेको उहाँ बताउनुहुन्छ ।

चीनमाथि धोका दिएको आरोप लगाउने भए पनि अमेरिकी अर्थमन्त्री बेसन्टले बेइजिङसँग वार्ताका लागि ढोका खुलै राख्नुभएको छ ।

“मलाई विश्वास छ चीन छलफलका लागि खुला छ र यो तनावलाई मत्थर गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो।

कलान्त्जाकोसका अनुसार अमेरिकासँग हुने व्यापार वार्ताअघि चीनले ‘आफ्नो स्थितिलाई व्यवस्थित बनाएको’ हो।

दुर्लभ खनिजहरूको निर्यातमा कटौती गरेर बेइजिङले वाशिङ्टनमाथि एउटा अनुकूल सम्झौताका निम्ति सबैभन्दा राम्रो तात्कालिक साधन पाएको भास्कर बताउनुहुन्छ ।

अल्पकालका निम्ति चीनसँग कार्ड भए पनि बेइजिङसँग केही रणनीतिक विकल्पहरू रहेका सिङ्गापुर म्यानेज्मन्ट यूनिभर्सिटीका जिआओ याङ्ग बताउनुहुन्छ।

उहाँका अनुसार अमेरिकाले ट्यारिफ घटाउन सक्छ, जुन बेइजिङका लागि आकर्षक हुन सक्छ किनकि व्यापार युद्धले उसका उत्पादनलाई नराम्ररी प्रभावित पारेको छ।

चिनियाँ अर्थतन्त्र उसले उत्पादन गर्ने सामान तथा तिनको निर्यातमा निर्भर छ। ताजा आधिकारिक तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा चीनले अमेरिकालाई गरेको निर्यात २७ प्रतिशतले घटेको छ।

वाशिङ्टनले चिनियाँ प्रविधि क्षेत्रको विकासमा असर पुर्‍याउने गरी थप व्यापार प्रतिबन्धहरू लगाउने धम्कीहरू दिन सक्ने प्राध्यापक मक्डोनाग बताउनुहुन्छ।

उदाहरणका लागि ह्वाइट हाउसले एन्भिडिआका अत्याधुनिक चिप्स खरिद गर्ने चिनियाँ कदमलाई रोकेर उसको उच्चस्तरीय सेमिकन्डक्टरको आवश्यकतालाई निसाना बनाइसकेको छ। तर विज्ञहरूका अनुसार त्यसको सीमित असर मात्र पर्ने देखिन्छ।

प्राध्यापक मक्डोनागका अनुसार बेइजिङको प्रविधि उद्योगलाई लक्ष्यित गर्दै चालिने कदमले चीनको गति मन्द बनाउन सक्ला, तर त्यसलाई निष्प्रभावी बनाउन नसक्ला।

दीर्घकालीन लक्ष्यहरू हासिल गर्नका निम्ति केही दुःख पनि झेल्ने गरी आर्थिक रणनीति चीनले अवलम्बन गरेको देखिएको उहाँ बताउनुहुन्छ।

“अमेरिकी निर्यात नियन्त्रणअन्तर्गत चर्को मूल्य चुकाउनुपर्ने भए पनि चीन अगाडि बढ्न सक्छ। तर दुर्लभ खनिजको आपूर्ति रोकिएमा सबैको उद्योग रोकिन सक्छ। ठूलो फरक भनेको यही हो।”

Share Now