काठमाडौँ, १ कार्तिक। संविधानबाहिरबाट संविधानलाई कुल्चिएर बनाइएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा भएको एक महिनाभन्दा बढी समय व्यतित भए पनि आम नागरिक र राजनीतिक दलहरुलाई फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन सकेको छैन ।
सरकार र त्यसका संरचनाप्रति राजनीतिक दल र आम नागरिकको विश्वास र भरोसा जाग्न नसकेको महसूस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्रीको उपस्थितिमा संबन्धित मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन हुने विश्वास जगाउन निर्देशन दिनुभएको छ ।
उहाँले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।
उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरू खरो रुपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभएको थिया । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अबिलम्ब फिर्ता गर्न पनि आग्रह गर्नुभयो ।
अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । उहाँले पूर्ण तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने बताउनुभयो ।
सु्रक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाउनुभएको थियो । उहाँहरूले यो भन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रुपले निर्वाचनका लागि तयार रहेको पनि बताउनुभएको थियो ।
छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ, ससस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।


















