Prakash Adhikari October 19, 2025

बेन्ट डेस्बसमेन्ट, ह्वाइट हाउस /जोन सडवर्थ, किएभ

(अमेरिका र युक्रेन)१ कार्तिक(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आवश्यक पर्ने ‘टोमाहक क्रुज मिसाइल’ आपूर्ति गर्न आफू तयार नभएको सङ्केत गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउसमा भएको बैठकबाट रित्तो हात फर्किनुपरेको जस्तो देखिएको छ।

सौहार्दपूर्ण बैठकपछि जेलेन्स्कीले आफू र ट्रम्पले लामो दूरीको क्षेप्यास्त्रका बारेमा कुराकानी गरेको तर यस विषयमा कुनै भनाइ नराख्ने निर्णय गरेको बताउनुभयो।

बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत किएभ र मस्कोलाई ुजहाँ छन् त्यहीँ रोकिनु र युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको थियो।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेको भोलिपल्ट ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता भएको हो। ट्रम्प र पुटिनबीच छिट्टै हङ्गेरीमा भेट हुने सहमति भएको बताइएको छ।

रुसी तेल र ऊर्जा केन्द्रहरूमा आक्रमण गर्न टोमाहकको प्रयोग गर्दा पुटिनको युद्ध अर्थतन्त्र गम्भीर रूपमा कमजोर हुने जेलेन्स्कीको विश्वास छ।

ट्रम्पले यसलाई अस्वीकार गर्नुभएन तर शुक्रवार ह्वाइट हाउसमा उहाँको बोली प्रतिबद्ध सुनिँदैन थियो।

“आशा छ कि उनीहरूलाई यसको आवश्यकता पर्दैन, आशा छ कि हामी टोमाहक्सको बारेमा नसोची युद्ध समाप्त गर्न सक्षम हुनेछौँ”, अमेरिकी राष्ट्रपतिले भन्नुभयो। उहाँले अमेरिकालाई हतियार आवश्यक रहेको पनि बताउनुभयों।

ट्रम्पले क्षेप्यास्त्र पठाउनुले युद्ध थप तीव्र हुने तर यसबारे आफूहरूले कुरा गर्ने बताउनुभयो।

पुटिनलाई ट्रम्पसँग भेट्न टोमाहक्सले प्रेरित गरेको थियो भन्ने बीबीसीको प्रश्नमा उहाँले भन्नुभयो, “क्षेप्यास्त्रको खतरा छ, तर यसको खतरा सधैँ रहिरहन्छ।”

ट्रम्प पुटिन भेटबारे जेलेन्स्की

युक्रेनी नेताले आफ्नो देशले टोमाहक्सको बदलामा ड्रोन प्रस्ताव गर्न सक्ने बताउनुभयो। त्यसको प्रतिक्रियामा ट्रम्पले मुस्काएर टाउको हल्लाउनुभयो।

जेलेन्स्कीले मध्यपूर्वमा शान्ति सम्झौताको पहिलो चरण पार गर्न ट्रम्पको भूमिकाको प्रशंसा गर्नुभयो र उहाँले युक्रेनमा रूसको युद्ध अन्त्य गर्न मद्दत गर्न त्यो गति बनाउन सक्ने पनि बताउनुभयो।

त्यसपछि बाहिर, जेलेन्स्कीलाई एकजना पत्रकारले पुटिनले सम्झौता गर्न चाहनुहुन्छ वा बुडापेस्टमा ट्रम्पसँग प्रस्तावित बैठकको लागि समय मात्रै लिँदैहुनुहुन्छ होला भनेर सोधे।

“मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “युक्रेनमा टोमाहक्स हुने सम्भावनाले रुसलाई तर्साएको छ किनकि यो एक बलियो हतियार हो”, उहाँले भन्नुभयो।

युक्रेनले टोमाहक्स पाउनेछ भन्ने कुरामा बढी आशावादी भएर उहाँवासिङ्टनबाट बाहिरिँदै हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा जेलेनस्कीले भन्नुभयो, “म यथार्थवादी छु।”

एक्समा एउटा पोस्टमा जेलेन्स्कीले आफूले युरोपेली नेताहरूलाई ट्रम्पसँग बैठकको विवरणबारे बताउन बोलाएको उल्लेख गर्नुभएको छ। “अब मुख्य प्राथमिकता सकेसम्म धेरैको जीवनको रक्षा गर्नु हो, युक्रेनको सुरक्षाको सुनिश्चितता गर्नु हो र युरोपमा हामी सबैलाई बलियो बनाउनु हो।”

यूकेका प्रधानमन्त्री केयर स्टार्मरले युरोपेली नेताहरूसँगको टेलिफोन फलदायी भएको बताउँदै यूकेले मानवीय सहायता र सैन्य सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हालैका दिनहरूमा ट्रम्पले टोमाहक्स बेच्ने विचारमा खुलापन देखाउनुभएको थियो। यद्यपि पुटिनले यस्तो कदमले अमेरिका-रूस सम्बन्धलाई थप तनावपूर्ण बनाउने चेतावनी दिनुभएको थियो।

बिहीवार ट्रम्पले पुटिनसँगको टेलिफोन कुराकानीमा ठूलो प्रगति भएको र हङ्गेरीमा चाँडै नै प्रत्यक्ष वार्ता गर्न सहमत भएको बताउनुभएको थियो।

जेलेन्स्की ती वार्तामा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नमा ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग भेट गर्नुअघि पुटिन र जेलेन्सीबीच शत्रुतापूर्ण भावना रहेको बताउनुभयो।

“हामी यसलाई सबैका लागि सहज बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो। “हामी तीनमा संलग्न हुनेछौँ, तर यो अलग हुन सक्छ।” उहाँले थप्नुभयो, “तीनै नेताहरू एक ठाउँमा हुनुपर्छ।”

विगतका भेटवार्ता

ट्रम्पले अगस्टपछि पुटिनसँग भएको आफ्नो पहिलो फोन धेरै फलदायी भएको बताउनुभएको छ।

ट्रम्पले अगस्टमा अलास्कामा भएको शिखर सम्मेलनले पुटिनलाई युद्ध अन्त्यका लागि विस्तृत शान्ति वार्तामा प्रवेश गर्न मनाउन मद्दत गर्ने आशा गर्नुभएको थियो तर त्यो बैठक निर्णायक हुन विफल भयो।

गत महिना रुसी क्षेप्यास्त्रले ध्वस्त पारेपछि गत महिना युक्रेनको किएभको बाहिरी भेगमा आफ्नो स्वामित्वमा रहेको सानो स्टोरको मर्मत गरिरहेका एक दम्पतीसँग बीबीसीले शुक्रवार कुरा गरेको थियो।

जब पसलका मालिक भोलोदिमिरलाई ट्रम्पको पुटिनसँगको आगामी शिखर बैठकको बारेमा सोधियो, उहाँले भन्नुभयो, :हामी सबै सहयोगको सराहना गर्दछौ।”

तर आँखाबाट आँसु बग्न थालेपछि उहाँ त्यहाँबाट अन्यत्र जानुभयो। लामो समयको मौनतापछि उहाँले आफूलाई सम्हाल्नुभयो

उहाँले भन्नुभयो, “सत्य र लोकतन्त्रको जित हुनेछ र आतङ्कवाद र नराम्रो कुरा हराउनेछ।”

“हामी केवल बाँच्न चाहन्छौँ, हामी हार मान्न चाहँदैनौँ, हामी केवल उनीहरूले हामीलाई एक्लै छोडुन् भन्ने चाहन्छौँ।”

Share Now