Prakash Adhikari October 19, 2025

काठमाडौं,२ कार्तिक । जेनजी आन्दोलनमा उदाएका‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

उहाँले भाद्र २३ र २४ आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गर्नुभयो । ‘देशको लागि लड्न एकदमै जरुरी छ। अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ। हामी क्रान्तिकारी होइनौं, विकासवादी हौं,’ ढुंगानाले भन्नुभयो।

उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्याउनुभयो। ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो। रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उहाँले भन्नुभयो ।

ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पूरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिनुभयो।

‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ। यो विना हामी कतै जानेवाला छैनौं,’ ढुंगानाले भन्नुभयो।

ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभौलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताउनुभयो। ‘हामी भाँडभौलो मच्चाउन आएका होइनौं। विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’ उहाँले भन्नुभयो।

Share Now