Prakash Adhikari October 19, 2025

काठमाडौं, २ कार्तिक। नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणमध्ये असोज मसान्तसम्म ८ अर्ब ४५ करोड २४ लाख रुपैयाँ किस्ता भुक्तानी गरेको छ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये दुई न्यारोबडी विमानको किस्ता पूर्ण र दुई वाइडबडीको आंशिक रकम भुक्तानी गरिएको हो। भुक्तानी रकम ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ रहेको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो।

प्रवक्ता डाँगीका अनुसार कोभिड–१९ महामारीको असरका कारण उत्पन्न वित्तीय दबाबको सामना गर्न निगमले ब्याजको ब्याज, हर्जाना तथा पेनल्टी छुट गर्न र किस्ता अवधि लम्ब्याउन कोषहरूलाई औपचारिक अनुरोध पठाएको छ। सो विषयमा सकारात्मक छलफल भइरहेको छ ।

वर्तमान नेतृत्वले सम्हालेयता ऋण दायित्व भुक्तानी नियमित गर्दै आर्थिक पुनर्संरचनातर्फ ध्यान केन्द्रित गरिएको निगमको भनाइ छ।

Share Now