Prakash Adhikari October 24, 2025
  • एङगेला हेन्सल
    बीबीसी विश्व सेवा

लण्डन(संयुक्त अधिराज्य), ७ कार्तिक । स्तन क्यान्सरको खोपसम्बन्धी आफ्नो ३० वर्षे करिअरको सबैभन्दा ठूलो सफलताको नजिक पुगेकी अन्कोलोजिस्ट डा.नोरा डिसिसले भन्नुभएको छ, “हामी टिपिङ पोइन्ट अर्थात् सङ्घारमा पुगेका छौँ।”

युनिभर्सिटी अफ वाशिङ्टनको मेडिसिन क्यान्सर भ्याक्सिन इन्स्टिट्यूटको नेतृत्व गर्ने डा.डिसिसलाई आउँदो दशकभित्रै खोप क्यान्सर उपचारको मानक हुने विश्वास छ।

धेरै देशहरूमा क्यान्सरबाट महिलाको मृत्यु हुने मुख्य कारण स्तन क्यान्सर बनेको छ। इन्टरन्याश्नल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)का अनुसार अहिले विश्वमा २० मध्ये एकजना महिलाको जीवनकालमा उक्त रोग पहिचान हुने गर्छ।

तर विभिन्न विधि प्रयोग गरेर विश्वभर ५० भन्दा बढी सक्रिय स्तन क्यान्सर खोपको परीक्षण भइरहेको बताउँदै ब्रेस्ट क्यान्सर रिसर्च फाउन्डेसनले आशा जागेको बताएको छ।

पछिल्ला १८ महिनामा खोपको विकासले ठूलो फड्को मारेको छ। इम्युनोथेरपीमा भएको ठूलो प्रगतिले गर्दा त्यो भएको हो। त्यो क्रान्तिकारी उपचारले रोगसँग लड्न शरीरको आफ्नो रोग प्रतिरोधी प्रणालीमा त्यो पठाइन्छ। साथै आर्टिफिसल इन्टेलिजेन्सको विकासले क्यान्सरका बिरामीबाट प्राप्त दशौँ हजार तथ्यहरूको विश्लेषण गर्न सक्छन्।

उमेरले ३० को दशकमा छँदा स्तनको दुग्ध नलीमा प्रारम्भिक चरणको डक्टल कार्सिनोमा इन साइटु (डीसीआईएस) को पहिचान भएकी नायिका भिक्टोरिया एकोनोयको अनुभवले समाजको निम्ति खोपको सम्भावित प्रभाव देखाउँछ।

“तपाईँको कामकाजी जीवन, सामाजिक जीवन, परिवार र साथीहरूमा ठूलो प्रभाव हुन्छ, त्यसले तपाईँको संसारमा उतार चढाव ल्याउँछ”, उहाँ भन्नुहुन्छ, “यदि हामीले खोपको सहयोगले त्यसको रोकथाम गर्न सक्यौँ भने त्यो साँच्चिकै अविश्वसनीय हुन्छ।”

सिकलशेल रोग पनि भएकाले उनको उपचार विशेष रूपमा जटिल थियो, जसको अर्थ शल्यक्रिया गर्न उनलाई रगत दिनुपर्ने खाँचो पर्‍यो। तर सुरुमै भएको पहिचान र उपचारले उनलाई सहयोग गर्‍यो।

‘स्तन क्यान्सर हुने मेरो उमेर भएकै छैन भन्ने ठानेकी थिएँ’

क्यान्सर खोपले कसरी काम गर्छ?

वैज्ञानिकहरूले क्यान्सर उपचार र रोकथामको निम्ति दशकौँदेखि खोपको विकास गर्ने प्रयास गरेका छन् तर थोरै सफलता मिलेको छ।

दादुरा वा मेनिन्जाइटिस जस्ता रोगहरूको खोपले आक्रमणकारी भाइरस वा ब्याक्टेरियाबाट बचाउन आवश्यक सुरक्षा विकास गर्न शरीरलाई मद्दत गर्छ।

क्यान्सरको हकमा यो निकै कठिन छ किनकि यो शरीरको आफ्नै कोषहरूबाट उत्पन्न हुन्छ। यसको अर्थ हो, धेरै जसो क्यान्सर खोपहरू व्यक्तिअनुसार बनाइन्छन्, तीनको तत्त्व प्रत्येक बिरामी र उनीहरूको ट्युमरको खास आनुवंशिक विशेषता अनुरूप परिवर्तन गरिएको हुन्छ।

ती खोपहरूले शरीरलाई प्रोटीन वा एन्टिबडी बनाउन निर्देशन दिन्छन् जसले क्यान्सर सेलमा मात्र भेटिने रोगको सङ्केत वा एन्टिजेनमाथि आक्रमण गर्दछन्।

कस्तो अनुसन्धान भइरहेको छ?

यसका केही कामको अगुवाइ डा. नोरा डिसिसले गरिरहनुभएको छ, जसले अधिकांश रूपमा आशाजनक खोपहरूको उत्पादनलाई तीव्रता दिइरहेको अमेरिकी समूह क्यान्सर भ्याक्सिन कोएलिसनसँग मिलेर काम गरिरहनुभएको छ। डा. डिसिसले धेरै परियोजनाहरू चलाउनुहुन्छ। जसमा सामान्यतया स्तन क्यान्सर कोषहरू छिटो बढ्न मद्दत गर्ने एचईआर २ प्रोटीनलाई लक्षित गरिएको युनिभर्सिटी अफ वाशिङ्टनको खोप वोकभ्याक को परीक्षण विस्तार लगायत छन्।

यस परीक्षणमा, खोपलाई केमोथेरपी र अन्य थेरपीका साथै एचईआर २ पोजिटिभ भएका स्तन क्यान्सरका बिरामीलाई ट्युमर हटाउन शल्यक्रिया गर्नु अघि दिइन्छ। जो सबै निदानहरूको लगभग एक तिहाइ छन्।

“हामी अन्ततः त्यो बिन्दुमा पुगेका छौँ, जहाँ हामीले निकट भविष्यमा क्लिनिकल प्रयोगको लागि क्यान्सर खोपहरूले स्वीकृत पाएको देख्ने छौँ”, डा. डिसिस भन्नुहुन्छ।

यसैबीच, अगस्टमा बायोटेक फर्म अनिक्सा बायोसाइन्सेस् र ओहायोस्थित क्लिभलन्ड क्लिनिकले विकास गरेको खोपको क्लिनिकल परीक्षणको पहिलो चरण सम्पन्न भएको छ।

पेप्टाइड(आधारित यो खोपले दूधको प्रोटीन अल्फा(ल्याक्टल्ब्युमिन लक्षित हुन्छ, जुन सबैभन्दा घातक मध्येको एक आक्रामक ट्रिपल(नेगेटिभ ब्रेस्ट क्यान्सर (टीबीएनसी) सँग जोडिएको हुन्छ।

एनिक्साका डा. अनिल कुमार भन्नुहुन्छ, “हामीले स्तन क्यान्सरको कोशिकाको विशेषता भएको प्रोटीन शरीरमा पठाइरहेका छौँ र शरीरलाई ती कोशिकालाई आक्रमण गर्न सिकाइरहेका छौँ।”

यी वैज्ञानिकहरूले खोपले बिरामीको ट्युमर घटाउन सक्छ कि सक्दैन भन्ने तथ्य स्थापित गर्ने प्रयास गरिरहेका छन्। जसको अर्थ शल्यक्रिया कम आक्रामक हुन्छ वा आवश्यक नै पर्दैन र बिरामीहरूमा पछि ट्युमर फर्किने सम्भावना निकै कम हुन्छ कि हुँदैन।

खोप टीएनबीसी भएर पनि बाँचेका बिरामीहरूमा परीक्षण भइरहेको छ, साथै ती महिलाहरूमा पनि भइरहेको छ जसको बायोप्सी परीक्षणबाट उनीहरूमा क्यान्सर हुन सक्छ भनेर पूर्व जनाउ दिने उत्परिवर्तनको सङ्केत पाइएको छ।

परीक्षणमा ती महिलामध्ये ७० प्रतिशतभन्दा बढीमा उनीहरूको रोग प्रतिरोधात्मक क्षमताले स्तन क्यान्सरका कोशिका पहिचान गरेको र त्यसलाई आक्रमण गरेको पाइएको छ।

किन धेरै युवामा क्यान्सर देखिइरहेको छ?

क्लिभलन्ड क्लिनिक क्यान्सर इन्स्टिट्यूडका डा. जी थोमस बडले प्रारम्भिक नतिजाअनुसार खोपले न्यून साइड इफेक्टका साथ राम्ररी काम गरेको देखाएको बताउनुभयो।

क्लिनिकल परीक्षणको दोस्रो चरण २०२६ को आरम्भमा सुरु हुनेछ र त्यसमा प्लेसबो समूहलाई सहभागी गराइने छ – जसलाई खोप दिइने छैन – जसबाट वैज्ञानिकहरूलाई खोपको प्रभावकारिता तुलना गर्ने अवसर प्राप्त हुनेछ।

डा. अनिल कुमार एक दिन खोप पहिले क्यान्सर नभएका महिला र केही पुरुषहरूलाई दिन सकिने जसले गर्दा वास्तवमै क्यान्सरलाई सुरुमै रोक्न सकिनेमा आशावादी हुनुहुन्छ।

त्यसपछि तेस्रो चरणको परीक्षणहरू हुनेछन् – धेरै अस्पतालहरूमा सयौँ देखि हजारौँ बिरामीहरू समावेश भएका धेरै ठूला अध्ययनहरू – जसमा नयाँ उपचारलाई हाल उपलब्ध सबै भन्दा राम्रो उपचारसँग तुलना गरिने छ।

त्यो चरणपछि पनि खोपले अनुमति पाउन अझै धेरै वर्ष लाग्न सक्छ, यद्यपि अमेरिकी नियामक निकाय एफडीएले क्यान्सर सहित केही रोगहरूको लागि त्यसको अनुमोदन प्रक्रियालाई गति दिने सीमा तय गरेको छ।

“यो चिट्ठा जिते जस्तै हो”, स्तन क्यान्सरको खोप लगाएकी र अहिले तीन वर्षदेखि त्यसबाट मुक्त डायना इनेसले भन्नुभयो।

आफ्नो दुई वर्षिया छोरीलाई सुताउन झुलाइरहेका बेला ३९ वर्षिया उहाँलाई आफ्नो स्तनमा गाँठो रहेको महसुस भयो र ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर तेस्रो स्टेजमा रहेको पत्ता लाग्यो।

डायनाले महिनौँसम्म गम्भीर उपचार गर्नुभयो जसमा रेडिकल सर्जरी, रेडियोथेरपी र १६ राउन्ड केमोथेरपी गर्नुपर्‍यो। रङ्ग र विषाक्तताको विशेषताका कारण रेड डेभिल भनिने उच्चस्तरीय केमो पनि दिइएको थियो।

त्यसपछि उहाँलाई स्तन क्यान्सरको खोपको परीक्षणको लागि उपयुक्त हुन सक्ने बताइयो। सुरुमा उहाँलाई शङ्का लाग्यो, तर एक पटक उहाँलाई त्यसबारे पूर्ण जानकारी दिइयो उहाँले आफूलाई निकै भाग्यमानी सम्झिनुभयो।

“वास्तवमा मलाई साँच्चै यो विज्ञानको अर्को ठूलो सफलता हो भन्ने लाग्छ”, उहाँले सुनाउनुभयो ।

यो उपचारमा कसले पहुँच पाउने छ?

व्यक्ति(लक्षित खोपहरूको सम्भावनालाई लिएर आशाको विस्तार भए पनि अहिले अझै प्रारम्भिक दिन नै छ। ती खोपले निकै नै लक्षित किसिमको उपचार गर्छन् तर त्यसको जटिल निर्माण प्रक्रियाले उत्पादन महँगो बनाउँछ।

औषधि कम्पनीहरूको दीर्घकालीन लक्ष्य भनेको ट्युमरका साझा सङ्केतहरूलाई लक्षित गरेर व्यापक जनमानसको निम्ति काम गर्न सक्ने तयारी खोपको विकास गर्नु हो।

स्तन क्यान्सरबाट बच्ने सम्भावना र संसारको कुन ठाउँमा बिरामी बस्छन् भन्ने बीचको सम्बन्ध कठोर छ।

उच्च आय भएका देशहरूमा रोग निदान भएका ८३ प्रतिशत महिलाहरू बाँच्छन् जबकि दक्षिण अफ्रिकाका लगभग सबै देशहरू लगायत कम आय भएका देशहरूमा त्यस्तै रोग निदान भएका आधाभन्दा बढी महिलाहरूको मृत्यु हुन्छ।

कतिपय क्यान्सर विशेषज्ञहरू आफूहरूलाई खोप जस्ता अग्रणी र आधुनिक प्रविधिहरू जसलाई आवश्यक छ तिनै महिलाको ठूलो सङ्ख्यासम्म कहिल्यै पुग्दैनन् कि भन्ने डर रहेको बताउँछन्।

आइएआरसीस्थित क्यान्सर सर्भिलेन्स शाखाकी उपप्रमुख डा. इसाबेल सोइसोमाताराम शल्यक्रिया, रेडियोथेरपी र केमोथेरपी जस्ता आधारभूत क्यान्सर उपचार गर्न सक्नेहरू र गर्न नसक्नेबीच अहिले नै ठूलो असमानता रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जब उन्नत, पर्शनलाइज्ड क्यान्सर उपचारको कुरा आउँछ यो स्थिति अझ चुनौतीपूर्ण हुन्छ।”

सन् २०५० सम्ममा विश्वभर स्तन क्यान्सर ३८ प्रतिशत बढ्ने आकलन छ। साथै त्यसबाट वार्षिक मृत्युदर ६८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेको आईएआरसीको फेब्रुअरीको रिपोर्टमा भनिएको छ।

आईएआरसीकी वैज्ञानिक तथा रिपोर्टकी लेखिका डा. जोएन किम भन्नुहुन्छ, ूविश्वमा हरेक मिनेट चार जना महिलामा स्तन क्यान्सर रहेको पत्ता लाग्छ र एक जनाको मृत्यु भइरहेको छ र यो तथ्याङ्क खराब हुँदै गएको छ।ू

भिक्टोरियाका निम्ति खोपको प्रगति उहाँको आवश्यकताको गतिमा तीव्रतर रूपमा हुन सक्दैन।

उहाँ अहिले अश्वेत महिलाहरूमाझ स्तन क्यान्सरको बारेमा राम्रो जागरूकताको निम्ति अभियान चलाउनुहुन्छ।

“त्यहाँ अझै पनि स्तन क्यान्सरको बारेमा कमै कुरा गर्ने समुदायहरू छन्”, उहाँ भन्नुहुन्छ ,”त्यहाँ दोषी भावना र लाज छ – यो दोष बोध त्यस पहिचानको मूलमा हुन्छ जो तपाईँले गुमाउनु हुन्छ। यो निकै दुखदायी छ।”

डायनाले विशेषगरी क्यान्सर मुक्त भएको पाँच वर्ष पुग्दै लाग्दा आफ्नो क्यान्सर फर्किन्छ कि भन्ने तारन्तार सोचिरहनुभएको छ ।

“तर यो कुनै विज्ञानको काल्पनिक कथा होइन, हामी क्लिनिकल परीक्षणको दोस्रो चरणमा छौँ। म आज यहाँ जीवित प्रमाणको रूपमा छु”, उहाँ भन्नुहुन्छ।

Share Now