Prakash Adhikari October 24, 2025
  • ग्याभिन बट्लर

सिंगापुर, ७ कार्तिक । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई दुई ठूला तेल कम्पनीहरूविरुद्ध व्यापक नयाँ प्रतिबन्धहरू घोषणा गर्नुभएको छ।

युक्रेनसँग शान्ति सम्झौताका लागि मस्कोमाथि थप दबाव सिर्जना गर्ने प्रयासस्वरूप उहाँले रुसमाथि थप प्रतिबन्ध घोषणा गर्नुभएको हो ।

युक्रेनमा रुसले गरेको अतिक्रमणलाई लिएर ट्रम्प प्रशासनले मस्कोमाथि गरेको यो पहिलो प्रत्यक्ष हस्तक्षेप हो। त्यही भएर भूराजनीतिक हिसाबले यसलाई एउटा महत्त्वपूर्ण क्षणको रूपमा हेरिँदै छ।

अमेरिकी निसानामा कुनकुन कम्पनी

अमेरिकी अर्थ मन्त्रालयको अफिस अफ फरेन एसेस्ट्स कन्ट्रोल (ओएफएसी) प्रभावकारी रूपमा रुसका दुई ठूला तेल उत्पादकहरूलाई कालोसूचीमा राखेको हो।

राज्यको नियन्त्रण रहेको रोसनेफ्ट तेल कम्पनीका प्रमुख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका साझेदार आइगोर सेचिन हुन्।

लुकोएल निजी कम्पनी हो जसले ब्लूमबर्गको अनुमानका अनुसार रुसको कुल निर्यातमध्ये आधाजति एक्लैले गर्छ। दुवै कम्पनी मिलेर प्रतिदिन ३१ लाख ब्यारेल तेल निर्यात गर्छन्।

रोसनेफ्ट एक्लैले रुसी तेल उत्पादनको आधा जति एक्लैले गर्छ। ब्रिटिश सरकारको अनुमानअनुसार उक्त कम्पनीबाट उत्पादित तेलले विश्वभरि हुने उत्पादनको ६ प्रतिशत हिस्सा ओगट्छ।

अमेरिकाले अहिले प्रतिबन्ध लगाउनुका कारण के हुन् ?

रुस(युक्रेन युद्ध रोक्न लगाउनु ट्रम्पका लागि पछिल्लो समय एउटा प्रमुख मुद्दा हुन पुगेको छ। गाजामा युद्धविराम गराउन सफल भएपछि उहाँ उत्साहित बन्नुभएको छ।

युक्रेनमा त्यस्तो कुनै सम्झौता अहिलेसम्म हात लाग्न सकेको छैन। राष्ट्रपतीय निर्वाचनको अभियानका क्रममा उहाँले आफू जित्नासाथ समस्याको समाधान निकाल्ने बताउनुभएको थियो।

गत अगस्टमा पुटिनसँग गरेको शिखरवार्ताले ठोस निष्कर्ष नदिएपछि ट्रम्प मस्कोसँग निराश भइरहनुभएको छ।

अमेरिका र उसका साझेदारहरू रुसी ऊर्जा उद्योगमाथि प्रतिबन्ध लगाउने कुरालाई लिएर संशयमा छन्। त्यसो गर्दा वैश्विक अर्थतन्त्रमा व्यापक असर पर्न सक्ने उनीहरूलाई डर छ।

तर हालै ट्रम्पले अमेरिकी साझेदारहरूमाथि रुसी तेलमा गरिने खर्च घटाउन दबाव दिएका छन्। साझेदारहरूले त्यसो गरेमा मात्र प्रतिबन्ध लगाउने उहाँले बताउनुभएको छ।

पुटिनले व्यर्थको युद्ध अन्त्य गर्न अस्वीकार गरेका कारण उक्त कमद चाल्नुपरेको अमेरिकी अर्थमन्त्रीले बुधवार बताउनुभएको छ ।

यूकेले ती दुई कम्पनीमाथि सोही प्रकृतिका प्रतिबन्धहरू लगाएको एक सातापछि र ट्रम्प(पुटिनबीच बुडापेस्टमा हुने भनिएको शिखरवार्ता स्थगित भएको भोलिपल्ट नयाँ प्रतिबन्धहरूबारे समाचार आएको हो।

अमेरिकी प्रतिबन्धको अर्थ के हो

असरलाई साङ्केतिक र आर्थिक रूपमा पनि हेरिँदै छ। किनकि ट्रम्पले अहिलेसम्म शान्ति सम्झौताप्रति आशा राख्नुभएको छ र प्रतिबन्धहरू लगाउन प्रतिवाद गर्ने गर्नुभएको छ।

युक्रेनका लागि दुई भूतपूर्व अमेरिकी राजदूतहरूले अमेरिकी कदमको महत्त्व लामो समयका लागि हेर्न बाँकी रहेको बताउनुभएको छ।

“प्रतिबन्धहरूले निश्चित रूपमा रुसी अर्थतन्त्रलाई प्रभावित पार्ने छ जुन पहिल्यैदेखि धरमराउँदो छ”, पूर्वराजदूत जोन हर्बस्टले बीबीसीसँग भन्नुभयो , “तर यो कदमले मात्र पुटिनलाई शान्ति एवं सद्‌भावका निम्ति प्रेरित गर्ला भनी अपेक्षा गर्नु मूर्खता होला कि जस्तो मलाई लाग्छ।पुटिनले साँच्चै राम्रो नियतले कुरा गरून् भनी हामी चाहन्छौँ भने हामीले कैयौँ महिनासम्म आर्थिक र सैन्य दुवै दबाव सिर्जना गरिराख्नुपर्ने हुन्छ। यद्यपि यो राम्रो थालनी हो।”

अर्का भूतपूर्व राजदूत बिल टेलरले बीबीसीसँग भन्नुभयो, “वार्ताको टेबुलमा आउनैपर्छ भनेर यो प्रतिबन्ध राष्ट्रपति पुटिनलाई एउटा सङ्केत हो।”

युक्रेन युद्धमा कसरी प्रभाव पर्ला

ट्रम्पले अहिलेकै युद्धमोर्चामा लडाइँ रोक्नुपर्ने प्रस्तावलाई बारम्बार समर्थन गर्दै आउनुभएको छ र भूभागहरू जस्ताको तस्तै अवस्थामा रहनुपर्ने बताउनुभएको छ।

रुसले त्यसको विरोध गर्ने गरेको छ। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले किएभले हालै कब्जा जमाएको पूर्वी डोन्बास क्षेत्रबाट युक्रेनी सैनिकहरू हट्नुपर्ने भनी रुसी अडानमा कुनै परिवर्तन नआएको सङ्केत गर्नुभएको छ।

रुसी अर्थतन्त्रका महत्त्वपूर्ण स्तम्भलाई प्रभावित पार्ने गरी लगाइएका नयाँ प्रतिबन्धहरूले त्यो अवस्थाबारे पुनर्विचार गर्न मस्कोलाई दबाव दिन सक्छन्। अमेरिकाले पनि त्यस्तै होस् भन्ने चाहेको छ।

तर बीबीसीसँग कुराकानी गरेका विश्लेषकहरूले युद्धभूमिमा तत्काल कुनै परिवर्तन हुने ठानेका छैनन्।

सिड्नी विश्वविद्यालयको अन्तर्राष्ट्रिय सुरक्षा अध्ययन केन्द्रस्थित एक अनुसन्धानकर्ता डा स्टुअर्ट रोलोका अनुसार युद्ध गर्ने रुसी औद्योगिक सामर्थ्यमाथि भौतिक प्रभाव पार्ने र प्रतिबन्धले गर्दा अर्थ व्यवस्था एवं समाजमाथि बढ्दो प्रभावको डरका कारण शान्तिका सर्तहरू स्वीकार गर्न बाध्य पार्नु उद्देश्य रहेको छ।

सिङ्गापुरको नान्याङ टेक्नोलोजिकल यूनिभर्सिटीस्थित मिलिट्री ट्रान्स्फर्मेशन्स प्रोग्र्यामका सहायक प्राध्यापक माइकल रस्काका अनुसार निकट भविष्यमा प्रतिबन्धहरूबाट युक्रेनमा सैन्य सन्तुलनमा कुनै परिवर्तन आउने सम्भावना छैन।

तर नाफाको मात्रा कम हुँदै जाँदा रुसलाई सामाजिक-आर्थिक स्थिरता कायम राखिराख्न तथा लामो युद्धका लागि पैसा जुटाइराख्न कठिन सम्झौताको सामना गर्नुपर्ने हुन सक्ने उहाँ बताउँनुहुन्छ।

प्रतिबन्धबाट अरू कुनकुन देश प्रभावित हुन सक्छन्

अमेरिकी प्रतिबन्धहरूले रुसी अर्थतन्त्रलाई धक्का दिने निश्चितप्रायः छ। तेल र ग्यासबाट आउने करको हिस्सा रुसी सङ्घीय बजेटको एक चौथाइ रहेको छ।

तर त्यसको असर परसम्म पनि पुग्न सक्छ। तेल र ग्यास रुसका ठूला आयात हुने वस्तु हुन्।

रुसी ऊर्जाका ठूला आयातकर्तामा विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका दुई देश चीन र भारतका साथै टर्की पनि छन्। रुसी इन्धनको ठूलो भाग आयात गर्नेमा चीन र भारत पर्छन्।

ट्रम्पले जबाफी कदमस्वरूप सुरुमा भारतीय सामानको आयातमा २५ प्रतिशत ट्यारिफ घोषणा गर्नुभयो ।

विश्वमा तेलको मूल्यमा कस्तो प्रभाव पर्ला

ट्रम्पका प्रतिबन्धहरूको समाचारले विश्वबजारमा तेलको भाउमा वृद्धि निम्त्याइसकेको छ।

उक्त घोषणाले लन्डनस्थित रुसी राजदूतावासबाट रुसमा प्रमुख ऊर्जा कम्पनीहरूलाई निसाना बनाउँदा विश्वमा इन्धन आपूर्ति अवरुद्ध हुन सक्ने र मूल्य बढ्न सक्ने अनि यूकेका व्यापार तथा परिवारलाई समेत असर पार्ने भनी प्रतिक्रिया निम्त्यायो।

तर डा रोलो अहिले पनि यो वृद्धि जारी रहने सम्भावना नदेखिएको बताउनुहुन्छ ।

“जबसम्म ती कम्पनीहरूसँग सम्बन्ध भएका शिपिङ ृढुवानी गर्ने तथा वित्तीय कम्पनीहरूविरुद्ध प्रतिबन्धलाई कडाइका साथ लागु नगरिएसम्म अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा मध्य अथवा दीर्घकालमा त्यसको कुनै असर पर्ने जस्तो मलाई लाग्दैन”, उहाँले भन्नुभयो।

पिटर होस्किन्स, ओस्मन्ड चिआ र जेम्स फिट्जजेरल्डको अतिरिक्त रिपोर्टिङ

Share Now