Prakash Adhikari October 26, 2025

 

काठमाडौं, ९ कात्तिक । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरेर त्यसको महसुल नतिर्ने उद्योगहरूको लाइन धमाधम काट्न थालेपछि उद्योगीहरू आक्रोशित बनेका छन्।

प्राधिकरणले शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको विद्युत लाइन काटेपछि उद्योगीहरू सामूहिक छलफलमा जुटेका छन्।

स्रोतका अनुसार, उद्योगीहरूले अब आफ्नो उद्योग नै बन्द गरेर विद्युत प्राधिकरणलाई ताला–चाबी बुझाउने निर्णय गरेका छन्। शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलले भन्नुभयो, “हामी प्राधिकरणलाई उद्योगको चाबी बुझाउँदैछौं, अब यस्तो वातावरणमा उद्योग सञ्चालन सम्भव छैन।”

यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिसकेको थियो। शुक्रबार थप १८ उद्योगको बिजुली काटिएको छ, जसमा पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्डस्ट्रीज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्स रहेका छन्।

यसअघि, लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ४ गते पनि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटिएको थियो।

ऊर्जा मन्त्री कुलमान घिसिङले महसुल नतिर्ने उद्योगहरूसँग “जसरी पनि बक्यौता असुल गर्ने” चेतावनी दिनुभएको छ।

तर उद्योगीहरूले भने महसुल तिर्नुपर्ने स्पष्ट आधार र हिसाब माग्दै आएका छन्। उनीहरूको भनाइमा, जेन–जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर भएको छ र पुँजी पलायनको खतरा बढ्दै गएको छ।

यसबीच, ह्यात होटल बन्द गरिएको सूचनासँगै अन्य ठूला होटल र उद्योगहरूमा पनि अनिश्चितता बढेको छ। यस्तो परिस्थितिमा विद्युत लाइन काट्नु आर्थिक रूपमा प्रतिकूल निर्णय भएको भन्दै विभिन्न व्यापारी संघसंस्थाले असन्तुष्टि व्यक्त गरेका छन्।

Share Now