क्वालालम्पुर(मलेसिया), ९ कार्तिक (बीबीसी) । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्।
सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि सहभागी हुनुभएको छ।
ट्रम्पले यसै महिनाको शुरूतिर इजरायल र हमास समूहबीच युद्धविराम गराएको पृष्ठभूमिमा यो खबर प्रकाशमा आएको हो।
मलेशियाको राजधानी क्वालाम्पुर पुग्नुभएका अमेरिकी राष्ट्रपतिले जुलाईमा क्याम्बोडिया र थाईल्यान्डबीच सीमामा भएको लडाइँ अन्त्य हुनुको श्रेय लिँदै आउनुभएको छ।
लडाइँ नरोकेसम्म दुवै देशसँग व्यापार वार्ता रोक्ने चेतावनी ट्रम्पले दिएपछि एउटा धरमराउँदो युद्धविराम सम्झौतामा दुई मुलुक पुगेका थिए।
गत जुलाईमा भएको पाँचदिने द्वन्द्वका क्रममा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको थियो। दुई देशबीच लामो समयदेखि सीमासम्बन्धी विवाद रहिआएको छ।
लामो समयदेखिको विवाद
थाईल्यान्ड र क्याम्बोडियाबीच देखिएको सीमा विवाद नौलो चाहिँ होइन।
क्याम्बोडियालाई फ्रान्सले उपनिवेश बनाएर सीमाङ्कन गरिएपश्चात् दक्षिण पूर्वी यी दुई एशियाली मुलुकबीच एक शताब्दीभन्दा बढी समयदेखि सीमासम्बन्धी विवाद रहिआएको छ।
विवादित क्षेत्रमा अवस्थित ११औँ शताब्दीको एउटा मन्दिरलाई क्याम्बोडियाले युनेस्को विश्व सम्पदा सूचीमा दर्ता गराउन खोजेपछि सन् २००८ मा विवाद चर्कियो।
क्याम्बोडियाको उक्त कदमले थाईल्यान्डमा व्यापक प्रदर्शन पनि निम्त्यायो।
पछिल्ला वर्षहरूमा दुई देशबीच बेलाबखल भिडन्तहरू हुँदै आएका छन्, जसमा दुवै पक्षका सैनिक तथा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।
पछिल्लो तनाव गत मेमा उत्पन्न भएको थियो जब भिडन्तमा एक कम्बोडियाली सैनिक मारिए। उक्त घटनाका कारण दुई देशबीच एक दशकभन्दा बढी समयताकै द्विपक्षीय सम्बन्ध चिसिन पुग्यो।
त्यसपछि जुलाई २४ मा तनाव उत्कर्षमा पुग्यो। सीमा क्षेत्रमा पाँच दिन लडाइँ चल्दा ३३ जना मारिए भने दशौँ हजार मानिस विस्थापित भए।
शान्ति सम्झौता नै हो वा समझदारी
बीबीसीकी टेसा वोङका अनुसार ट्रम्पले दुई देशबीच हुन लागेको समझदारीलाई ूशान्ति सम्झौताू भनेका छन्।
तर त्यो के साँच्चिकै शान्ति सम्झौता हो? थाईल्यान्डका विदेशमन्त्रीले त्यसलाई शान्ति सम्झौता भन्न अस्वीकार गर्नुभएको छ।
समझदारीलाई थाईल्यान्ड र क्याम्बोडियाबीचको सम्बन्धको संयुक्त घोषणा भनी नाम दिइएको छ।
सञ्चारमाध्यमहरूमाझ सार्वजनिक गरिएका शर्तहरूलाई हेर्दा समझदारीले द्वन्द्व कम गर्नका निम्ति शुरूवाती कदमहरूको ढाँचा प्रस्तुत गरेको देखिन्छ।
त्यसअन्तर्गत भारी अस्त्रहरू फिर्ता ल्याउने, संयुक्त रूपमा बारुदी सुरुङहरू हटाउने तथा सीमाहरूलाई स्पष्ट रूपमा चिह्नित गर्ने कदम समेटिएका छन्।
समझदारीमा औपचारिक रूपमा शान्तिको घोषणा गरिएको छैन। हुन त गत जुलाईमा पहिलो पटक लडाइँ बन्द गरेकै बेला दुई देशले अविलम्ब शत्रुता अन्त्य गर्ने समझदारी गरेका थिए।
ट्रम्प एशिया भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशिया भ्रमणका क्रममा शुरूमा क्वालालम्पुरमा आउनुभएको हो।
त्यहाँ रहँदा उहाँ दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसीआनको शिखर बैठकमा पनि सहभागी हुनुहुने छ।
एक साता लामो एशिया भ्रमणमा निस्कनुभएका ट्रम्पले अमेरिकाको प्रमुख साझेदार रहिआएको जापानका नयाँ रूढीवादी नेतृत्वसँग टोक्योमा भेट्नु हुनेछ ।
दक्षिण कोरियामा चाहिँ एशिया प्यासिफिक इकनमिक फोरम एपेकको शिखर बैठकमा सहभागी हुनुहुने कार्यक्रम छ।
त्यहाँ उहाँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्नुहुने छ, जसलाई उहाँको भ्रमणको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा हेरिँदै छ।


















