Prakash Adhikari October 28, 2025
  • सन्जना चौधरी
    दक्षिण एशिया क्षेत्रीय पत्रकारिता

नयाँदिल्ली(भारत), ११ कार्तिक ।आर्थिक अस्थिरता र बजारमा सङ्कट उत्पन्न हुँदा सुनमा गरिने लगानीलाई सुरक्षित रूपमा लिने गरिएको छ।

पछिल्ला केही साता केन्द्रीय ब्याङ्कहरू तथा वित्तीय संस्थाहरू अनि लगानी गर्ने मानिसहरूले पनि अझ बढी सुन खरिद गरिरहेका छन्।

समग्रमा त्यसले सुनको मूल्य व्यापक बढ्न भूमिका निर्वाह गरेको छ। सन् २०२५ मा मात्रै ६० प्रतिशतभन्दा बढीले सुनको मूल्य वृद्धि भइसकेको छ। पछिल्ला केही दिनमा भने यसको भाउ घट्दो छ।

तर व्यक्तिगत लगानीकर्ताहरूका निम्ति सुन खरिद तथा बिक्री जोखिमले भरिएको हुन्छ, कहिले सुन किन्नेदेखि लिएर बेच्दा नेदेखिने लागतसम्मका पक्षबारे बुझ्नुपर्ने हुन्छ।

सुन खरिद गर्दा ध्यान दिनुपर्ने केही पक्षहरूबारे तल चर्चा गरिएको छ।

१. भौतिक अथवा डिजिटल?

यदि तपाईँ लगानी गर्ने हिसाबले सुन खरिद गर्दै हुनुहुन्छ भने सुनको ‘डिजिटल संस्करण’बारे पनि विचार गर्नुहोस्।

‘डिजिटल गोल्ड’, ‘गोल्ड फन्ड’ अथवा ‘गोल्ड बन्ड’हरूले तपाईँलाई सुनले दिने सबै फाइदा दिन्छन् भने बनाउँदा लाग्ने खर्च अथवा राख्दा लाग्ने शुल्क तिर्नुपर्दैन।

डिजिटल सुनको हकमा टुटफुटका कारण मूल्य कम हुने जोखिम रहँदैन।

तर कुनै समारोह अथवा पावन अवसरमा भौतिक रूपमा सुन खरिद गर्न चाहनेहरूका निम्ति आभूषण, बार अथवा सिक्का मन पर्ने विकल्प हुन सक्छन्।

२. शुद्धता र प्रमाणिकता

सबै सुन २४ क्यारटको हुँदैन, खास गरी आभूषणका रूपमा पाइने सुन २४ क्यारटको हुँदैन।

शुद्ध २४ क्यारटको सुन एकदम नरम हुन्छ, जसका कारण आभूषण बनाउन गाह्रो हुन्छ।

चौबीस क्यारटको सुन गोल्ड बार अथवा सिक्काको रूपमा लगानीकर्ताहरूलाई बिक्री गरिन्छ।

आभूषण बनाउनका निम्ति सुनमा अरू धातु मिसाइन्छ। त्यसैले अधिकांश आभूषणहरू १८-२१ क्यारेट बीचको सुनबाट बनाइन्छ।

सुन खरिद गर्दा आधिकारिक ‘हलमार्क’ अथवा प्रमाणीकरणको चिह्न खोज्नुहोस्, जसले वजन, शुद्धता, प्रतिग्राम मूल्य र बनाउँदा लाग्ने शुल्क अथवा करबारे जानकारी दिन्छ।

त्यो विवरण राखिराख्दा बेच्ने बेला अथवा सट्टापट्टा गर्ने बेला सघाउ पुग्छ।

कतिपय आभूषण विक्रेताले त्यसलाई आफूले खरिद गर्ने ग्यारेन्टी पनि दिने गर्छन्। त्यसबारे विचार गर्नुहोस् किनकि त्यसको अर्थ विक्रेतालाई त्यो सुनको शुद्धतामाथि विश्वास छ भन्ने हुन जान्छ।

३. विश्वसनीय स्रोतबाट किन्नुहोस्

चाहे भौतिक होओस् अथवा डिजिटल, सुन विश्वसनीय र आधिकारिक विक्रेताबाट किन्नुहोस्।

प्रमाणित नगरिएका अन्लाइन प्ल्याट्फर्महरू र खास गरी निश्चित समयका लागि आउने ‘डील’हरूबाट बच्नुहोस्।

ग्राहकहरूको समीक्षा हेर्नुहोस्, पारदर्शी मूल्य रहेको सुनिश्चित गर्नुहोस् र उपयुक्त बिल तथा फिर्ता गर्न पाउने नीतिहरूबारे सुनिश्चित हुनुहोस्।

सुनको मूल्यमा दैनिक उतारचढाव हुने भएकोले विश्वसनीय स्रोतबाट आधिकारिक मूल्य हेर्नुहोस्।

उदाहरणका लागि ब्याङ्क, विक्रेता सङ्घसङ्गठन अथवा सरकारी वेबसाइटहरूलाई हेर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा खरिद गर्नुअघि विभिन्न ठाउँहरूको मूल्यलाई दाज्नुहोस्।

४. बनाउँदा शुल्क लाग्ने पक्ष

सुनको आभूषणमा बनाउँदा लाग्ने शुल्क जोडिएको हुन्छ, त्यो भनेको लागतको ५ देखि २५ प्रतिशतसम्म पर्न आउँछ।

तपाईँले बेच्ने बेला त्यो लागेको खर्च जोडिँदैन। त्यो भएर बनाउने शुल्क बढी भयो भने बेच्ने बेला असर पर्छ।

साथै तपाईँले जति तौलको आभूषण हुन्छ, त्यो तौल बराबरको मूल्य तपाईँले पाउनुहुन्छ। इनामेल र अर्धमूल्यवान् पत्थरहरूको भाउ बेच्ने बेला लाग्दैन।

खरिद अथवा बिक्री गर्ने बेलाको करको हिसाब गर्नुहोस्। त्यसले भौतिक र डिजिटल सुन दुवैको मूल्यलाई असर पार्छ।

५. बजार भाउ पत्ता लगाउनुहोस्

सुन बिक्री गर्ने बेला बजारमूल्यका साथै खरिदकर्ताले घटाउने रकमबारे थाहा पाउनु महत्त्वपूर्ण हुन्छ।

बजारमूल्यको सबैभन्दा नजिक भाउ कसले दिन्छ भनेर धेरै क्रेताहरूबाट भाउ बुझ्नुहोस्।

डिजिटल सुनको सन्दर्भमा तपाईँले करका रूपमा केही रकम गुमाउन सक्नुहुन्छ। खरिद गर्ने बेला तपाईँले निश्चित शुल्क तिरेको हुन्छ।

६. मूल्य घटाउने तत्त्वहरूबारे थाहा पाउनुहोस्

क्रेताले ज्याला र जर्ती, भाउ उतारचढाव र नाफाको हिस्साबापत केही रकम घटाउने गर्छन्।

कमिशनलगायतका अन्य शुल्कहरूबारे पनि थाहा पाउनुहोस्, जसको नाममा क्रेताले रकम घटाउँछन्।

उदाहरणका लागि कतिपय क्रेताले १ देखि ३ प्रतिशतसम्म प्रशोधन सेवा शुल्क लिने गर्छन्।

आभूषणको हकमा खरिद गर्ने बेला लाग्ने ज्याला खर्च र मूल्य अभिवृद्धि कर बापत लागेको रकम बेच्ने बेला काटिएर आउँछ।

अर्को कुरा तपाईँले आभूषण खरिद गरेका बेलाभन्दा बेच्ने बेला तौल कम हुन सक्छ।

त्यो किनभने सुनका आभूषणहरूको तौल पसिना, हावा, पानी अथवा रसायनहरूका कारण घट्न सक्छ।

७. सही समय चयन गर्नुहोस्

सुनको मूल्य मुद्रास्फीति, मुद्राको भाउ र विश्वव्यापी मागले प्रभावित हुन्छ।

मूल्य बढेका बेला अथवा उच्च माग रहेका बेला तपाईँले सुन बेच्दा राम्रो प्रतिफल पाउन सक्नुहुन्छ।

तपाईँलाई अति जरुरी नपर्दासम्म मूल्य घटेका बेला हतारमा सुन नबेच्नुहोस्।

८. बिल र रेकर्डहरू राख्नुहोस्

तपाईँको खरिद बिल र शुद्धताको प्रमाणपत्रले अनावश्यक कटौतीबाट जोगाउँछ र प्रक्रियालाई सहज तुल्याउँछ।

शुद्धता पहिल्यै प्रमाणित भइसकेको हुनाले हलमार्क सुनले सामान्यतया राम्रो मूल्य पाउँछ। तर तपाईँसँग प्रमाण हुनुपर्छ।

तपाईँले सुन बेचेपछि क्रेताको नाम, मिति र करसहितको रेकर्ड राख्नुहोस्।

यदि तपाईँले यस्तो बिल हराउनुभयो भने क्रेताबाट शुद्धता, तौल र दरको हिसाब गरिएको लिखित कागज माग्नुहोस्।

९. भरपर्दो क्रेता चुन्नुहोस्

भरसक प्रमाणित क्रेतालाई नै बेच्नुहोस्। रातारात उदाएका क्रेताले ठूलो वाचाले लोभ्याएर ठग्न सक्छन्।

तपाईँले बेच्न लागेको सुनका लागि सबैभन्दा राम्रो क्रेता पत्ता लगाउनुहोस्- जौहरीहरूले आभूषणका, ब्याङ्कहरूले गोल्ड बारका र मुद्राशास्त्रीहरूले प्राचीन सिक्काहरूको मूल्य राम्ररी बुझ्छन्।

तपाईँले पाउने मूल्य सुनको शुद्धतामा निर्भर गर्छ। त्यो भएर खरिद गर्ने बेला नै तपाईँको उपस्थितिमै ‘एक्सआरएफ’ अथवा डिजिटल परीक्षण जस्ता तरिका अवलम्बन गरिएको सुनिश्चित गर्नुहोस्।

मूल्यबारे कुरा गर्दा पारदर्शी हुनुहोस्। क्रेतालाई सुनको तौल, शुद्धता र लागेको शुल्कबारे विस्तृत रूपमा सोध्नुहोस्।

क्रेताले पनि मूल्य कसरी हिसाब गरिएको छ भन्ने कुरा बताउनुपर्छ।

 

Share Now