Prakash Adhikari October 28, 2025

टोकियो(जापान), ११ कार्तिक(एजेन्सी )। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको जापान भ्रमणको क्रममा यी सम्झौतामा हस्ताक्षर भएका हुन् ।

सम्झौताले अमेरिका–जापान सम्बन्धमा स्वर्ण युगको सुरुवात मानिएको छ । दुई नेताहरूले केही समय अघि मात्रै यी सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको थियो। व्यापार सम्झौता लामो समयदेखिका दुई सहयोगीहरू बिचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ ।

दोस्रो सम्झौता महत्त्वपूर्ण खनिज सम्झौता हो । यसले दुर्लभ धातुको आपूर्ति सुनिश्चित गर्ने रूपरेखा प्रदान गर्नेछ । सम्झौता अमेरिका र जापानबिच दुर्लभ धातुको आपूर्ति र उत्पादन बढाउनमा केन्द्रित छ । पछिल्लो समय अमेरिकाले दुर्लभ धातुमा चीनमाथिको निर्भरता कम गर्न खोजिरहेको छ । हालैका दिनमा ट्रम्पले मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियासँग पनि दुर्लभ धातुसम्बन्धी सम्झौता गरेका थिए ।

विद्युतीय उपकरण, विद्युतीय कार र सैन्य उपकरण लगायतका सामान बनाउन चाहिने यी धातु जापानसँग पर्याप्त मात्रामा छ । तर अधिकांश धातु समुद्र मुनि छन् । जसले गर्दा यसको उत्खनन कठिन छ । कागजातहरूमा हस्ताक्षर गरेपछि, अमेरिकी राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगीको रूपमा प्रशंसा गर्नुभएको थियो । यस क्रममा उहाँले जापानकै पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गर्नुभएको थियो ।

Share Now