Prakash Adhikari October 28, 2025

 

काठमाडौं, ११ कार्तिक । नेपालको शेयर बजार आज उच्च अंकले बढेको छ । मंगलबार नेपाल धितोपत्र बजार परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक बढेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३ सय १४ स्टकको ९२ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको हो।

Share Now