दुबाई(संयुक्त अरब इमिरेट्स), १९ कार्तिक । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत युएई त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय टिम घरेलु टोलीसंग भिड्दै छ ।
खेल बिहान ११ः१५ बजे आईसीसी एकेडेमी मैदान दुबाईमा सुरु हुनेछ।
हालसम्म भएका तीन खेलमा लगातार हार व्यहोरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सात्वना जित निकाल्ने दाउमा छ ।
ओमानमा भएको टी २० विश्वकप एशिया तथा इष्ट एशिया प्रशान्त क्षेत्रको छनोट खेलका सबै खेलमा विजयी बनेर विश्वकप छनोट भएको नेपाली टिम उच्च मनोबलका साथ लिग २ छनोट खेलमा सहभागी भएको थियो ।
तर लिग २ .छनोटको एक दिवसीय खेलको लय नेपालले पक्डन सकेन । धैर्यतापूर्वक खेल्न नसकेकोले नेपालले अमेरिकासंगको पहिलो खेल १ सय ६ रनले पराजित भयो । घरेलु टोलीसंगको खेल जित्ने आशा थियो । त्यो पनि ५ विकेटले पराजित भयो । तेस्रो खेलमा अमेरिकालाई जित्ने आशा थियो तर त्यो पनि ४ विकेटले हार्यो । यो श्रृखलामा आफूले खेलेका ४ वटै खेल जितेर ८ अंक बटुल्दै ३६ अंकसहित अमेरिका ८ टिममा शीर्षस्थान कायम राख्न सफल रहेको छ । नेपाल र युएई बीचको पहिलो खेल युएईले जितेको छ । आज हुने खेल नेपालले जित्ने विश्वास लिएको छ । यस अगाडिको खेलमा युएई अमेरिकासामु अत्यन्त निरिह भयो । जम्मा ४९ रनमा अल आउट भएको युएईलाई अमेरिकाले २ सय ४३ रनको विशाल अन्तरले पराजित गर्यो ।
यो खेलमा नेपालले केही परिवर्तन गर्न सक्ने सम्भावना छ। आरिफ शेखको सट्टा अनिल साह र ललित राजवंशीको स्थानमा शाहब आलम खेल्ने सम्भावना रहेको बताइएको छ।
लगातार तीन हारपछि १९ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको नेपालका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ। नेपाल यो जितले २ अंक थप्ने दाउमा हुने छ । अंक तालिकाको आठौ अर्थात पुछारमा रहेको युएईले १९ खेलमा हालसम्म ८ अंक मात्र बटुलेको छ । यस खेलको जित र हारले नेपाल र युएई दुवैको स्थानमा भने कुनै परिवर्तन हुने छैन ।


















