Prakash Adhikari November 5, 2025

 

काठमाडौं, १९ कार्तिक ।अधिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेपालको शेयर बजार बुधवार फेरी उकालो लागेको छ । यस दिन नेप्से परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ।

आज शेयर बजार दिनभर उतारचढावपूर्ण रह्यो । बिहान ११ः२७ मा २६११ः४७ पुगेको धितोपत्र बजार परिसूचक त्यसपछि ओरालोमा तलमाथि हुँदै दिउँसो १ ः ४५ बजे १५७६.९६ तिर ओर्लिएको थियो । त्यसपछि उकालो लागेको बजार तलमाथि हुँदै अन्तिम समयमा १६१२ बढ्दै २६०७।४२ मा रोकिएको हो ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय १२ स्टकको ९२ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजोदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन ३४ रुपैयाँ ९० पैसा बढेर ३ सय ८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने सामान्य घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

Share Now