Prakash Adhikari November 5, 2025

 

दुबाई(संयुक्त अरब इमिरेट्स), १९ कार्तिक । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृखलाको अन्तिम तथा आफ्नो चौथो खेलमा युएईलाई २ सय ४० रनको लक्ष्य दिएको छ ।

दुबाईस्थित अन्तराष्ट्रिय क्रिकेट परिषद् एकेडमी मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको छ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन । खेलमा दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए । सन्दीप लामिछाने १५ रनमा नट आउट रहे भने ललित राजवंशीले पनि ४ रन जोडे ।

नेपालका ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल २ । २ रनमा आउट भए । नन्दन यादव १ रनमा आउट भए भने करण केसी शून्य रनमा आउट भए ।

नेपाललाई रोक्ने क्रममा यूएईका ध्रुव पराशर, जुनेद सिद्दिकी र मुहम्मद जवादुल्लाहले २।२ विकेट लिए भने जाहिद अलीले १ विकेट ।

आईसीसी विश्वकप लिग २ को युएई त्रिकोणात्मक श्रृखलामा लगातार तीन हार बेहोरेको नेपाल अन्तिम खेलमा सान्त्वना जित निकालेर अंक तालिकामा दुई अंक थप्ने दाउमा छ । ं

नेपाल पहिलो खेलमा अमेरिकासंग १ सय ६ रनले पराजित भएको थियो । दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग २ को तालिकामा अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई पनि समान १९ खेलमा ८ अंक जोडेर आठौं अर्थात पुछारमा रहेको छ ।

Share Now