administrator September 27, 2017

काठमाडौ, ९ असोज । नेपाल राष्ट्र बैंक संचालक समितिले कर्मचारी विनियमावली २०६८ संशोधन गर्दै ३० वर्षे सेवा अवधि हटाएको छ।

संचालक समितिको आइतबारको संचालक समितिको बैठकले कर्मचारीको अनिवार्य अवकाशमा ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू हुने व्यवस्था गरेको हो। राष्ट्र बैंकको वर्तमान कर्मचारी विनियमावली अनुसार ५८ बर्ष उमेर वा राष्ट्र बैंकमा काम गर्न थालेको ३० बर्षमध्ये जुन पहिला आउँछ त्यसै अनुसार कर्मचारी सेवा निवृत्त हुने व्यवस्था छ।

राष्ट्र बैंकको असोज ८ गतेको संचालक समितिको बैठकले ३० बर्षे सेवा अवधि हटाएर शंशोधनका लागि लोक सेवा आयोग पठाउने निर्णय गरेको छ। नयाँ नियम लागू भएसंगै ५८ वर्ष पुगेकाले मात्र अनिवार्य अवकाश पाउने छन्।

नयाँ नियम लागू भएसँगै ३० वर्ष सेवा गरेर अनिवार्य अवकाश नजिक पुगेका करिब ३ सय कर्मचारीको जागिर थमौती हुने भएको छ।

विश्व बैंकले सरकारी बैंक तथा राष्ट्र बैंकमा कर्मचारीहरुको कार्य क्षमता बढाउन वित्तीय सुधार कार्यक्रमअन्तर्गत ३० वर्षे सेवाअवधि ल्याएको थियो। बिश्व बैंकले सरकारी बैंक तथा राष्ट्र बैंकमा कर्मचारी संख्या बढी भएको, नयाँ प्रविधिमैत्री सीप र दक्षता नभएका कर्मचारी धेरै भएको भन्दै यस्तो कार्यक्रम ल्याएको थियो।

राष्ट्र बैंकले भने सरकारी बैंक तथा राष्ट्र बैंकमा यस्तो समस्या नरहेको बताउदै आएको छ। ३० बर्ष लागू गर्दा राष्ट्र बैंकमा दक्ष र अनुभवी अधिकृतको अभाबु हुने राष्ट्र बैंकको तर्क छ।

Share Now

Leave a comment.