Prakash Adhikari August 23, 2018

सानेपा(ललितपुर) ७ भदौ । नेपाली कांग्रेसले मुलुकको संघीय संरचना अनुरुपको पार्टी संंरचना निर्माणको लागि वर्तमान विधानमा परिमार्जनको खाका तयार पार्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार पार्टी सभापति शेरबहादुर देउवाले गठन गर्नुभएको समितिका सदस्यहरुमा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर , मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू , महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सिता गुरुङ,प्रदीप पौडेल र रमेश लेखक रहनुभएको छ ।

समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागु गर्नेछ । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने बताइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको २०७५ वैशाख १६ गते सम्पन्न बैठकले, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (५) बमोजिम पार्टी विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सभापति मा। शेरबहादुर देउवाबाट, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २४ (८) बमोजिम पार्टी विधान संशोधन मस्यौदा समिति गठन गर्नु भएको हो ।

Share Now

Leave a comment.