पुणे (भारत), १९ मंसिर । खगोलशास्त्रीहरूले ब्रह्माण्डमा हाम्रो आकाशगङ्गा मिल्की वेसँग मिल्दोजुल्दो एउटा निकै पुरानो अनि विशाल खगोलीय संरचना फेला परेको बताएका छन्।
उनीहरूले त्यसलाई हिमालयबाट उत्पन्न गङ्गा नदीका दुई मुख्य सहायक नदीमध्ये एउटाबाट प्रेरित भएर अलकनन्दा नाम दिएका छन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायतामा भारतकी राशि जैनले विद्यावारिधिका लागि गरेको अनुसन्धानको निष्कर्षसहितको शोधपत्र भर्खरै वैज्ञानिक जर्नल एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ।
पुणेस्थित टाटा इन्स्टिट्यूट अफ फन्डामेन्टल रिसर्चको राष्ट्रिय रेडिओ खगोल भौतिकी केन्द्रका प्राध्यापक योगेश वाडदेकरले राशि जैनलाई मार्गदर्शन गर्नुभएको थियो।
अनेकौँ तारा, ग्रह, ग्यास र धूलोसहित र गुरुत्वाकर्षणका कारण एउटा प्रणाली बन्न पुगेको विशाल संरचना नै आकाशगङ्गा हो। आकाशगङ्गा चक्राकार, अण्डाकार वा अनियमित आकारका हुन सक्छन्। तिनमा केही हजारदेखि लाखौँ तारा हुन सक्छन्।
अलकनन्दा आकाशगङ्गाका विशेषता
अलकनन्दा आकाशगङ्गा चक्राकार छ। यो पृथ्वीबाट १२ अर्ब प्रकाशवर्ष टाढा छ। अर्थात् ब्रह्माण्डको अर्को छेउमा रहेको यो संरचनाबाट पृथ्वीसम्म प्रकाशलाई आइपुग्न सामान्यतया १२ अर्ब वर्ष लाग्ने ठानिन्छ।
“यो आकाशगङ्गा ‘बिग ब्याङ’ भन्दा १=५ अर्ब वर्षपछि जस्तो थियो अहिले पनि त्यस्तै देखिन्छ। त्यो प्रारम्भिक युगमा यति सुगठित र चक्राकार आकाशगङ्गा निर्माण हुनु निकै अप्रत्याशित कुरा हो। यसले ब्रह्माण्डको जटिल संरचनाहरू हामीले अनुमान गरेभन्दा निकै पहिले नै बन्न थालेका थिए भन्ने देखाउँछ”, राशि जैन भन्नुहुन्छ।
जैन र वाडदेकरले यो आकाशगङ्गा ‘प्रभावशाली ब्रह्माण्डीय शक्ति केन्द्र’ भएको निष्कर्ष निकालेका छन्।
उनीहरूको गणनाअनुसार यो आकाशगङ्गाको द्रव्यमान हाम्रो सूर्यको भन्दा १० अर्ब गुना छ।
त्यसमा प्रत्येक वर्ष नयाँ ताराहरूको उत्पत्ति भइरहेको ठानिन्छ। हाम्रो आकाशगङ्गा ‘मिल्की वे’मा भन्दा त्यहाँ तारा उत्पत्ति हुने दर २० देखि ३० गुना बढी भएको ठानिएको छ।
अलकनन्दा आकाशगङ्गा पृथ्वीबाट निकै टाढा छ। तर गुरुत्वाकर्षणका कारण यो बढी चम्किलो देखिन्छ। फलतः खगोलशास्त्रीहरूले यसलाई स्पष्ट रूपमा देख्न र चिन्न सके।
जेम्स वेब स्पेस टेलिस्कोप निर्माण हुनुभन्दा पहिला खगोलशास्त्रीहरू प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाहरू अव्यवस्थित र गुच्छेदार थिए भन्ने मान्यता राख्थे।
ब्रह्माण्डको उत्पत्ति भएको केही अर्ब वर्षपछि मात्र आकाशगङ्गाहरू स्थिर र चक्राकार बनेको अनुमान उनीहरूको थियो।
पुरानो मान्यतानुसार सुरुसुरुमा बनेका आकाशगङ्गाहरू निकै ताता र अशान्त थिए र तिनलाई चिसिन, स्थिर हुन र चक्राचार बन्न लामो समय लागेको थियो।
तर प्रा वाडदेकर अलकनन्दाले भिन्न सम्भावना देखाएको बताउनुहुन्छ ।
“यो आकाशगङ्गाले १० अर्ब सौर्य द्रव्यमान भएका ताराहरू भेला पार्नुपर्यो अनि चक्राकार भुजा भएको एउटा विशाल ुडिस्कु निर्माण गर्नुपर्यो। ब्रह्माण्डीय मानकका आधारमा हेर्ने हो भने यी सबै कुराको गति अविश्वसनीय रूपमा तीव्र छ”, उहाँले भन्नुभयो ।
अधिकांश आकाशगङ्गाहरू १० देखि १३।६ अर्ब वर्ष पुराना छन्। अर्थात् ती ब्रह्माण्ड उत्पन्न भएकै बेलातिर बनेका हुन्।


















