सानेपा(ललितपुर), १३ भदौ । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिले पार्टी संगठन कस्तो प्रकारको बनाउने भन्ने सम्बन्धमा सार्वजनिक रुपमा राय सुझाव मागेको छ ।
समितिका संयोजक एवम् पार्टी महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको समितिको विधान संशोधनका लागि सुझाव आह्वान गर्ने निर्णय गरेको हो ।
समितिको निणर्,यमा भनिएको छ, ‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन, प्रचलित कानून तथा नयाँ संघीय व्यवस्था अनुसार नेपाली कांग्रेसलाई अझ सशक्त, प्रभावकारी, पारदर्शी एवं समयानुकुल बनाउन सांगठनिक संरचना लगायतका विषयहरु सम्बन्धमा नेपाली कांग्रेस पार्टीको विधानमा के कस्ता संशोधन र परिमार्जन आवश्यक छ, त्यस सम्बन्धमा नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयको इमेल ठेगाना (info@nepalicongress.org) मा २०७५ भाद्र २१ गतेभित्र आ–आफ्नो राय सुझाव पठाई सहयोग गर्नु हुन पार्टीका सदस्यहरु, शुभेच्छुकहरु, मतदाताहरु लगायत इच्छुक सर्वसाधारणहरु सबैमा हार्दिक आह्वान गर्ने ।’
समितिको अर्को बैठक भाद्र १४ गते दिउँसो १ः०० बजे पुन बस्ने जनाइएको छ ।



















