क्वालालम्पुर(मलेसिया), १३ भदौ । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाललाई ओमानले ७ विकेटले हराएको छ।
टस हारेर ब्याटिड.को निम्ता पाएको नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।
ओमानको जितमा खावर अलीले सर्वाधिक नटआउट ८४ रन बनाए। वैभव वाटेगावन्करले ४१ , जतिन्दर सिंहले ३० र जीसन मकसुदले अविजित ४५ रन बनाए।
३३ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो।
नेपालका लागि कप्तान पारस खड्काले एक विकेट लिए। २ ब्याट्सम्यान रन आउट भएका थिए।
वायुमास ओभल मैदानमा भएको खेलमा नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले ८४ बलमा ८३ रन जोडे।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिए।आरिफ शेखले ७४ बलमा ३६ रन बनाउँदा करण केसीले १० बलमा नटआउट २६ रन जोडे।
दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस खड्काले ८, सोमपाल कामीले पाँच र सुवास खकुरेलले चार रन बनाए।
नेपालले दोस्रो खेलमा बिहीबार यूएईसँग खेल्ने छ। प्रतियोगितामा ६ टोली सहभागी छन्। विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।


















