काठमाडौं, १३ भदौ । बिमस्टेकको मन्त्रीस्तरीय बैठक काठमाडौंमा प्रारम्भ भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबाट समुद्घाटन भएको मन्त्री स्तरीय बैठकमा अध्यक्षको निर्वाचन पछि सदस्य राष्ट्रका मन्त्री स्तरीय प्रतिनिधिहरुले सम्बोधन गरी क्षेत्रीय मामलामा राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
होटल सोल्टीमा भएको विमस्टेकको मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिव साहिदुल इस्लामले बिमस्टेक सचिवालय र चौथो शिखर सम्मेलनका लागि भए गरेका कामको विवरण प्रस्तुत गर्नुभएको छ ।
बैठकमा हिजो काठमाडौंमा सम्पन्न १९ परराष्ट्र सचिवस्तरीय बैठक र केही समय अगाडि काठमाडौंमा सम्पन्न विशेष बैठकको प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकले भोलिदेखि हुने बिम्स्टेक चौथो शिखर सम्मलेनमा राष्ट्र तथा सरकार प्रमुखहरुको बैठकमा प्रस्तुत गर्ने विषय र हस्ताक्षरका निमित्त समझदारीपत्र तयार गर्नेछ । यो सम्मेलनमा सदस्य राष्ट्रहरुका बीचमा विद्युत प्रशारण लाईनको सम्पर्क स्थापना गर्ने र बिमस्टेक कोष स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
यस बाहेक काठमाडौं घोषणापत्रलाई पनि यो बैठकले अन्तिम रुप दिनेछ । घोषणापत्रमा सदस्य राष्ट्रहरुका बीचको ब्यापार,पर्यटन,लगानी,कृषि,गरिबी निवारण,स्वास्थ्य, यातायात,सञ्चार र प्रविधि, हवाई र सडक सम्पर्क तथा सञ्जाल विस्तार र सीमापार आतंक तथा अपराध नियन्त्रण लगायतका विषयलाई समेटिने छ ।
त्यसैगरी मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरणको कार्यक्रम पनि छ । नेपालले आउदो शिखर सम्मेलनको आयोजक राष्ट्र श्रीलंकालाई नेतृत्व हस्तान्तरण गर्नेछ । विमस्टेकको शिखर सम्मेलन पनि देशको नाम अनुसार वणानुक्रमका आधारमा आयोजना हुँदै आएको छ ।
बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि के सिंहले गर्नुभएको छ ।
यसैगरी म्यान्माका अन्तराष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेशराज्य मन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डल बैठकमा सहभागी हुनुभएको छ ।
भुटानले भने आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्था सचिव सोनाम छोङलाई परराष्ट्रमन्त्रीस्तरीय बैठकमा प्रतिनिधित्व गर्न पठाएको छ ।
सम्मेलनमा सहभागिता जनाउन आउनुभएका बिमस्टेकका सदस्य राष्ट्रहरुका परराष्ट्र मन्त्री तथा मन्त्री स्तरीय प्रतिनिधिहरुको सम्मानमा मंगलबार साँझ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले होटल याक एण्ड यतिमा रात्री भोजको आयोजना गर्नुभएको थियो ।


















