काठमाडौं,१४ भदौ । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेनमा सहभागी बन्न सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आइपुग्नुभएको छ ।
सम्मेलनमा सहभागी बन्न थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा काठमाडौंमा आइपुग्नुभएको छ।
सम्मेलनमा सहभागी बन्न आजै बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं आइपुग्नुभएको छ ।
आजदेखि राजधानीमा शुरू हुने विमस्टेकको दुई दिवसीय चौथो शिखर सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुनाहरु विशेष उडानमार्फत काठमाडौं आईपुग्नुभएको हो ।
विमानस्थलमा अवतरण गर्नुभएका तीन वटै राष्ट्रका सरकार प्रमुखलाई उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गर्नुभएको थियो । तिनै राष्ट्रका सरकार प्रमुखहरुलाई नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
विशिष्ट पाहुनाहरुलाई सोल्टी होटल लगिएको छ । सोल्टी होटल विमस्टेकको सम्मेलन स्थल पनि हो ।
सम्मेलनमा सहभागी हुन म्यानमारका राष्टपति बिन मिन्ट मंगलबारै काठमाडौं आाइसक्नुभएको थियो । उहाँ भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा पूजा अर्चना गरी काठमाडौ. फर्किसक्नुभएको छ ।
सम्मेलनमा सहभागिता जनाउन भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधान न्यायाधीश ल्यान्पो छिरिङ वाङचुक हिजो बुधबार बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँले प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग हिजो शिष्टाचार भेट समेत गरिसक्नुभएको छ ।
सम्मेलनमा सहभागिता जनाउन श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना पनि बुधबार नै काठमाडौं आइसक्नुभएको थियो ।
बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंंका र थाईलैण्ड सदस्य रहेका छन् ।
बिमस्टेकको तेस्रो शिखर सम्मेलन म्यानमारको नापिताओ शहरमा भएको थियो ।


















