काठमाडौं,१४ भदौ । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेनमा सहभागी बन्न पाल्नुभएका सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउसो १२:३० मा दिवाभोजको आयोजना गर्नुभएको छ ।
सम्मेलनमा सहभागी बन्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, श्रीलंकाका राष्ट्रपति मैलिपाला सिरिसेना, म्यानमारका राष्ट्रपति वीन मिन्ट, थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधान न्यायाधीश ल्यान्पो छिरिङ वाङचुक काठमाडौंमा आइपुग्नुभएको छ।
समुद्घाटन अपरान्ह ३ बजे
बिमस्टेकको चौथो शिखर सम्मेलनको समुद्घाटन अपरान्ह ३ बजे होटल सोल्टीमा हुनेछ ।
सुरक्षाका कारण सम्मेलन स्थलको मुख्य कक्षमा सरकार तथा राष्ट्रप्रमुखका दम्पत्ति र प्रत्येक सदस्य राष्ट्रका १० प्रतिनिधिसहित बिमस्टेकका महासचिव र सचिवालयका कर्मचारीहरु रहने व्यवस्था गरिएको छ ।
अन्य विशिष्ट आगन्तुकहरुलाई संगै बनाइएको दोस्रो हलबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरिएको छ ।
सम्मेलनको समुद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
आज सबै सदस्य राष्टका सरकार प्रमुखहरुले संबोधन गरेपछि कार्यक्रम समापन गरिनेछ ।
सहभागी विशिष्ट पाहुना र प्रतिनिधि मण्डलका सदस्यहरुको सम्मानमा प्रधानमन्त्री के पी ओलीले साँझ होटल ह्यातमा शान्त रात्री भोजको आयोजना गर्नुहुनेछ ।
भोली गोकर्ण रिर्सोटमा बिमस्टेकका विशिष्ट पाहुँनाहरुलाई रिटिट दिने कार्यक्रम छ ।
त्यसपछि अपरान्ह बैठक शुरु हुनेछ ।
बैठकमा बिमस्टेक सदस्य राष्टहरुलाई विद्युत प्रशारण लाईनबाट जोड्ने संझौतामा हस्ताक्षर हुनेछ ।
बिमस्टेकको काठमाडौं घोषणापत्र जारी गरि यो सम्मेलनको समापन गरिनेछ ।
सम्मेलनको समापनमा नेपालले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्नेछ ।
बिमस्टेकको पाँचौ बैठक श्रीलंकाले आयोजना गर्नेछ ।
बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंंका र थाईलैण्ड सदस्य रहेका छन् ।
ु
बिमस्टेकको तेस्रो शिखर सम्मेलन म्यानमारको नापिताओ शहरमा भएको थियो ।











