Prakash Adhikari August 31, 2018

 

काठमाडौं, १५ भदौ । अठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ।

सम्मेलन समापनको अवसरमा नेपालले बिमस्टेकको अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ।

अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ।

सचिवालयलाई विभिन्न कार्यक्रमको तर्जुमा र कार्यान्वयमा सक्रिय भूमिका खेल्न सक्ने गरी सबल बनाउने गरी विकास गर्ने विषयमा सम्मेलनमा सहमति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभएको छ ।

बिमस्टेकको संस्थागत विकासलाई टेवा पुर्याउन चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने विषय पनि घोषणापत्रमा समेटिएको छ।

सम्मेलनको समापन घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमताले देखिने बताउनुभयो। उहाँले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको उल्लेख गर्दै सरकार प्रमुख र राष्ट्रप्रमुखलाई ‘साइट सिइङ’ गराउन नसकेकोमा दुस्ख व्यक्त गर्नुभयो।

बिमस्टेकको रिट्रिट गोकर्ण रिसोर्टमा गर्ने तय भए पनि रिसोर्ट जाने सडक निर्माण कार्य समयमा सम्पन्न नभएकोले सारिएको थियो।

बिमस्टेक चौथो शिखर सम्मेलन सम्पन्न पत्रकार सम्मेलन LIVE

Gepostet von Sabin Dhamala am Freitag, 31. August 2018

नेपालले सम्मेलनस्थल होटल सोल्टीमा आज बिहान नै रिट्रिट कार्यक्रम गरेको थियो। जसमा सम्मेलनमा सहभागी सरकार तथा राष्ट प्रमुखका दम्पत्तिलाई बिहानको ब्रेकफास्ट सहित शान्त र पारिवारिक वातावरणमा द्धिपक्षीय र क्षेत्रीय विकासका बारेमा कुराकानी गर्ने वातावरण मिलाइएको थियो ।

रिट्रिट होटल सोल्टीको पुल साइडमा आयोजना गरिएको थियो ।

सम्मेलन घोषणाअघि बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिमस्टिक ग्रिड स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।

बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो। बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन्।

चार पाहुना आजै फर्किने


बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका चार राष्ट्रप्रमुख र सरकार प्रमुखहरु आजै स्वदेश फर्कनुहुने भएको छ ।

थाइल्याण्ड, म्यानमार तथा भारतका सरकार प्रमुख आजै फर्किने कार्यक्रम छ ।

सबैभन्दा पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिना १२ बजे फर्कनुभएको छ।

त्यस्तै थाइल्याण्डका प्रधानमन्त्री र म्यानमारका राष्ट्रपतिपनि आजै स्वदेश फर्कदै हुनुहुन्छ ।

थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चानओछा रोयल थाइ एयरवेजको विशेष विमान ४ बजे त्रिभुवन विमास्थलबाट उड्ने कार्यक्रम छ।

त्यस्तै म्यानमारका राष्ट्रपति विन मिन्टपनि आजै साढे ४ बजे स्वदेश फर्कनुहुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने नयाँ दिल्ली उड्नुअघि पशुपति पुग्ने कार्यक्रम छ । उहाँले पशुपतिमा धर्मशाला उद्घाटन गर्नुहुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै अपरान्ह द्विपक्षी भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

सो क्रममा रक्सौल काठमाडौ रेल्वे निर्माण सम्झौतामा हस्ताक्षर हुनेछ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना भने आइतबार मात्र फर्कनुहुनेछ । उहाँ शनिबार लुम्बिनी पुग्नुहुनेछ। शनिबार लुम्बिनी दर्शनबाट काठमाडौं फर्किए लगत्तै उहाँ प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि स्वदेश फर्कनुहुनेछ ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक शनिबार बिहान फर्कने कार्यक्रम रहेको छ ।

 

Share Now

Leave a comment.