Prakash Adhikari December 24, 2025
राँझा (बाँके), ९ पुस : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवको आयोजनाले आर्थिक र पर्यटन विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ को उद्घाटन गर्दै अध्यक्ष ढकालले देशव्यापी रूपमा सञ्चालन हुने मेला–महोत्सवले सम्बन्धित क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने दाबी गर्नुभयो ।
उहाँले कोहलपुर महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिकूल मौसमका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य सङ्घको विशेष आग्रहमा आफूलगायत महासङ्घका केन्द्रीय पदाधिकारीहरू कोहलपुर आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताउनुभयो ।
कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवद्र्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री महेश्वर गहतराजले कोहलपुर महोत्सव कोहलपुरका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवले कोहलपुरलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
महोत्सव उद्घाटन समारोहअघि कोहलपुर क्षेत्रमा विभिन्न मौलिक संस्कृतिलाई झल्काउने झाँकी प्रदर्शन तथा सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो । कोहलपुर चौराहाबाट सुरु भएको झाँकीसहितको र्‍यालीमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो ।
विसं २०६५ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवद्र्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउने कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक भट्टराईको दाबी छ ।
महोत्सवमा कूल ३०० प्रदर्शनी कक्ष राखिएका छन् । दुई सय ५० व्यावसायिक, २२ होटल, १५ प्रवर्द्धनात्मक, १० विषयगत प्रदर्शनी  तथा थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको छ ।
Share Now