Prakash Adhikari December 24, 2025
काठमाडौं, १०पौष । यस बर्षको क्रिसमसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त क्रिश्चियन धर्माबलम्बीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभयो ।
सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ । प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ । यस्तापर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”
  इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।
उपराष्ट्रपति यादवको शुभकामना 
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् भन्दै शुभकामना दिनुभएको छ ।
“हाम्रो संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायसँग यी मूल्यहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक हो । यहाँका विविध धर्म, संस्कृति र परम्पराले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन् । यी चाडपर्वले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएका छन्”, सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति यादवले यी पर्वहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी शासनको अभ्यासलाई सांस्कृतिक आधार प्रदान गर्दै स्थायी शान्ति, सुशासन र समृद्धिको दिशामा अघि बढ्न उत्प्रेरित गरेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
क्रिश्चियन धर्मका प्रवर्तक यशु ख्रीष्टको जन्म दिवसका रूपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर क्रिसमस पर्व मनाइन्छ । क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यसले परिवार, साथीभाइ र समुदायबीच शुभकामना आदानप्रदान, उपहार साटासाट र सांस्कृतिक कार्यक्रममार्फत् आपसी सद्भावलाई बलियो बनाउँदछ । साथै, व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै मुलुकलाई आर्थिक लाभ पु¥याउने अवसर पनि प्रदान गर्दछ । विपन्न, असहाय तथा सीमान्तकृत समुदायप्रति करुणा र सहयोगको भावना जागृत गर्ने प्रेरणा पनि यस पर्वले दिन्छ ।
पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि उत्साहपूर्वक क्रिसमस मनाउन थालेका छन्, जसले सर्वधर्म सहिष्णुता, परस्पर सम्मान र हाम्रो मौलिक पहिचानलाई जीवन्त राख्न मद्दत पु¥याएको शुभकामना सन्देशमा जनाइएको छ । यस अवसरमा सबैले सामाजिक न्याय, समावेशिता र समान अवसरलाई अझ सुदृढ बनाउने सङ्कल्प लिन सक्नुपर्ने पनि उपराष्ट्रपति यादवको भनाइ छ ।
क्रिसमस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय र राष्ट्रिय एकताको सूत्रमा बाँध्दै समृद्ध, शान्त र विकसित नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस् भनी उहाँले पुनः शुभकामना व्यक्त गर्नुभएको छ ।
Share Now